शुक्लाफाँटा नगरपालिकाको बजेट ५६ करोड ८० लाख

Posted on: 25 Jun, 2019

असार १०, कञ्चनपुर (रासस) | शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ५६ करोड ७९ लाख ९१ हजारको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभामा नगरपालिकाका उप–प्रमुख तुलसीदेवी हमालले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 

वित्तीय  समानीकरण अनुदान (सङ्घीय सरकार) रु १४ करोड २७ लाख, राजश्व बाँडफाँटतर्फ रु ११ करोड ३७ लाख, वित्तीय समानीकरण सर्शत अनुदान रु १४ करोड २६ लाख, प्रदेश समानीकरण अनुदान रु ७३ लाख ९७ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँट रु ६१ लाख ४६ हजार तथा क्षेत्रीय शहरी विकास कार्यक्रमतर्फ रु दुई करोड ४९ लाख ७५ हजार प्राप्त हुनेछ । सामाजिक सुरक्षा अनुदान रु छ करोड ९५ लाख ४० हजार, तराई मधेश समृद्धि कार्यक्रम रु ५० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम रु ५० लाख ४१ हजार, समपूरक अनुदान रु दुई करोड ४९ लाख ७५ हजार, विशेष अनुदान प्रदेश सरकार रु ४२ लाख, गरीबसँग विश्वेश्वर कार्यक्रम रु तीन लाख ९४ हजार, सडक बोर्डबाट रु ३४ लाख ९८ हजार तथा आन्तरिक आय रु दुई करोड १५ लाख हुने अनुमान गरिएको छ । 

आगामी आवका लागि सशर्त अनुदानतर्फ कूल रु १४ करोड २६ लाख प्रस्ताव गरिएको छ । आव २०७६/७७ को जेठ मसान्तसम्म चालू र पूँजीगत खर्च गरी रु ३५ करोड २२ लाख ५९ हजार रहेको छ । असार मसान्तसम्म चालू र पूँजीगत गरी रु २३ करोड ३१ लख ४५ हजार रकम खर्च हुने अनुमान गरिएको छ । आव २०७५/७६ मा नगरपालिकाको आय रु ४७ करोड ७७ लाख तथा व्यय रु ४४ करोड ६४ हजार रहेको थियो । 

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख दिलबहादुर ऐरले कृषिको उत्पादकत्व बढाइने, उन्नत बीउविजन र औजारको प्रयोगमा जोड दिइने कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । नगरसभाको उदघाटन सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले गर्नुभएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!