पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाइँदै

Posted on: 13 May, 2019

वैशाख ३०, कालीकोट । माओवादी सशस्त्र द्वन्द्वको अन्तिम तथा सबैभन्दा बढी क्षति भएको भिडन्तलाई स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । यसका लागि कालीकोटको खाँडाचक्र नगरपालिकाले भौतिक संरचना निर्माण गर्न थालेको छ । पिपी खाँडाचक्र नगरपालिका–७ मा पर्छ । पिलीमा २३ साउन, ०६२ मा राज्य र विद्रोही पक्षबीच भिडन्त भएको थियो । यो भिडन्तमा एक सय तीनजनाको ज्यान गएको थियो ।

जसमा तत्कालीन शाही सेनाका ६२, माओवादी सेनाका २८ र कर्णाली राजमार्ग निर्माणमा संलग्न १३ श्रमिकको मृत्यु भएको थियो । अन्यको यकिन तथ्यांक भए पनि माओवादी सेनाका बारेमा भने केही विवरण छैन ।  कर्णाली  राजमार्ग निर्माणका लागि त्यही वैशाखमा सेनाको सडक निर्माण कार्यदल राखिएको थियो । माओवादीले त्यसमाथि नै आक्रमण गरेका थिए । ‘माओवादी र तत्कालीन शाही सेनाको सबैभन्दा ठूलो युद्ध यही भएको हो,’ कर्णाली विकास आयोगमा पूर्वसदस्य कृष्णप्रसाद आचार्यले भने, ‘जुन अन्तिम युद्ध थियो । त्यसपछि माओवादी र सात दलबीच १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया सुरु भएको थियो ।’

त्यही घटनाको स्मरण गर्दै पिलीलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्न थालिएको कर्णाली विकास आयोगमा पूर्वसदस्य आचार्यले बताए । ‘सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी मानवीय क्षति भएको पिली घटनामै हो । यसलाई प्रतिकात्मक रूपमा युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोज्दैछौँ ।’ कर्णाली प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत पिली युद्ध पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण सुरु गरेको हो ।


अहिले युद्ध संग्रहालय, सहिद स्मृति भवन र होमस्टे निर्माण गरिनेछ । संग्रहालय बनाउन ४० लाख, सहिद स्मृति भवन बनाउन ६० लाख र होमस्टे बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालय प्राविधिक लवराज शाहीले बताए । यही आर्थिक वर्षभित्र संरचना निर्माण गरिने उनले बताए । दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउने योजना रहेको पिली युद्ध पर्यटन क्षेत्रका अध्यक्ष पुत्रबहादुर मल्लले बताए । पिली घटनामा ज्यान गुमाउने सबैकोे तस्बिर, प्रयोग भएका हतियार र उपकरण संकलन गरिने उनले बताए ।

स्थानीय बासिन्दाले पनि सक्रियता देखाएकाले सरकारले पनि जोड दिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए । युद्ध संग्रालयमा पिली भिडन्तमा प्रयोग भएका हतियार पनि राख्ने तयारी गरिएको उनले बताए । पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य हुने जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए । ‘कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बाटोमै पर्ने भएकाले पर्यटकलाई घुमाउन सजिलो हुनेछ,’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!