खाँडाचक्रको सार्वजनिक सुनुवाई

Posted on: 14 May, 2019

वैशाख ३१, कालिकोट । खाँडाचक्र नगरपालिकाले दोस्रो चौमासिकमा भएका प्रगती र बजेटबारे सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिकको दोस्रो चौमासिकमा सम्पन्न भएका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिहरुले आफुले गरेका गतिविधि सन्तोषजनक मात्र भएको बताएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा विकास निर्माणका प्रयासहरु भइरहे पनि विभिन्न चुनौती आएकाले बजेट अनुसारको प्रगती विवरण पाउन नसकिएको जनप्रतिनिधिको भनाई छ ।

खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीप्रसाद पंगेनीले आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकमा नगरपालिकाले अहिलेसम्म २२ करोड १८ लाख ८९ हजार २ सय ९९ मात्र खर्च गरेको बताए । नगरपालिकाको विनियोजित ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ रहेको र दोस्रो चौमासिकसम्म नगरपालिकाले ५२.४७ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको बताए ।

बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानहरुमा खानेपानी, सडक, सिँचाईलगायतका विकास निर्माणका काम गरेको नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘नगरपालिकाले सोचेजति काम गर्न सफल हुन सकेको छैन’ उनले भने, ‘दोस्रो चौमासिकसम्म पनि हामीले अपेक्षाकृत काम गर्न सकेका छैनौ ।’ कर्मचारीको अभाव, दरबन्दी, कानुनी अड्चन लगायतका समस्याले अपेक्षाकृत प्रगती हुन नसकेको उनले बताए ।


पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले खाँडाचक्र नगरपालिकाले जनताको माझमा देखाउन लायक योजना निर्माण र कार्यानवयन गर्न नसकेको बताए । नगरपालिकाले गर्ने योजना अनुगमनमा तेस्रो पक्षको संलग्नता हुनुपर्ने उनको भनाई छ । कार्यक्रमका सहभागीहरुले गुनासो सुन्न र सुझाव लिन सार्वजनिक सुनुवाई गरिएकोप्रति नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् भने एउटा बन्द कोठाभित्र सार्वजनिक सुनुवाई गरेकोप्रति स्थानीय मनसिंह शाहीले आपत्ती जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!