कालीकोटका सामुदायिक विद्यालय नौ महिनापछि खुले

Posted on: 07 Dec, 2020

मङ्सिर २२, मान्म । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । 

कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएका छन् । 

बालबालिकाको पढाइ लामो समय अवरोध भएको भन्दै स्थानीय तहले विद्यालय खोल्न शिक्षा समितिलाई आग्रह गरेपछि जिल्लाका नौ स्थानीय तहले औपचारिकरूपमा विद्यालय सञ्चालनमा ल्याएका हुन् । तिलागुफा नगरपालिकामा गत साउन १५ दिनसम्म विद्यालय खोलेको र बीचमा नगरपालिकाभित्रै ठूलो मात्रामा कोरोना सङ्क्रमित देखिएका कारणले केही समय विद्यालय बन्द गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “गाउँमा सामान्य ज्वरो आयो भने स्वास्थ्यकर्मी पठाउने, उपचार गर्ने र त्यो गाउँका बालबालिकालाई विद्यालयमा आउन केही दिन रोक्ने काम गरिन्छ तर विद्यालय बन्द गरिने छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यप्रति स्थानीय सरकार सचेत छ ।”

रास्कोट नगरपालिकाले पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलेको नगर शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताउनुभयो । “विद्यार्थीको पढाइ प्रभावित भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “नगरभरिका सबै विद्यालय खोल्न निर्देशन गरिएको छ ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!