कैलालीको भजनी र जोशीपुर डुबानमा

Posted on: 03 Jul, 2020

असार १९, लम्की । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि  गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिनुभयो ।  भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौँ घर डुबानमा परेको बताइएको छ । “काढा नदीमा पानीको बहाव बढेपछि पानी बस्तीमा पसेको हो”, चौधरी भन्नुहुन्छ,  ‘‘कान्द्रा नदी बढ्न थालेको छ । नदीमा पानीको बहाव बढ्दै गए यहाँ थप जोखिम बढ्नेछ ।” 

भजनी र जोशीपुरका सयौँ घरमा पानी पसेको छ । भजनीका छ परिवार विस्थापित भएर आफन्तकहाँ बसेको चौधरीले बताउनुभयो । “नदीमा पानी भरिएपछि गाउँ पस्यो, भजनी–जोशीपुर हुँदै बौनिया जोड्ने सडकसमेत डुबानमा परेको छ । सडकमा डेढ मिटर पानी पुगेको छ । सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ ।”

भजनीको वडा नं २ स्थित मोहनपुरमा नदीले सयौँ बिघा धानखेती पटानी गरेको छ । भर्खरै धान रोपेको सयौँ बिघा पटानी गरेपछि किसान दुःखी भएका छन् । कान्द्रा नदी गाउँ फर्किएपछि चौधरीको एक बिघा धानखेती पटानी भएको छ । चौधरीसँगै मोहनपुरका ६५ किसानको खेत बालुवाले पुरेको छ । भजनीकै दुःखराम चौधरीले  पालेका माछा बगेका छन् । “पाँच हजार माछा हालेको थिएँ, सबै बगायो”, दुःखरामले भन्नुभयो, “एक किलो तौल पुगिसकेका थिए । मलाई लाखौँ घाटा भयो ।”

बिहीबार रातिको वर्षापछि काढा नदीको पानी गाउँ पसेपछि जोशीपुर १ राजीपुरमा २५ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र  लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासी शेरबहादुर साउदले जानकारी दिनुभयो । “नदीमा पानीको बहाव बढिरहेको छ । नदीमा पानी बढे जोशीपुर डुबान र कटानको जोखिममा पर्छ”, साउदले भन्नुभयो, “मुक्तकमैया बस्तीमा त दयनीय अवस्था भएको छ ।”

भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन् । भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली र उच्च घरलाई तयारी अवस्थामा राखेको १ नं वडाध्यक्ष विधिराम चौधरीले बताउनुभयो । यहाँ वर्षेनी बाढी र कटान हुन्छ ।

यहाँका नागरिक हरेक वर्ष बाढीको त्रासमा हुन्छन् । बाढी आउने भएपछि यहाँका धेरै किसान चैते धानखेती गर्छन् । जोशीपुरका खगेन्द्र साउदले वर्षेनी डुबानको समस्या झेल्दै आए पनि सरकारले दीर्घकालीन डुबानको समस्या समाधान गर्न पहल नगरेको गुनासो गर्नुभयो । “वर्षात् हुन थाले हामी रातभरि सुत्न सक्दैनौँ”, साउदले भन्नुभयो, “अन्नपात सबै भिजेर नष्ट भएको छ । अझै वर्षा हुने देखिएको छ । हामी सुरक्षित स्थानको खोजीमा छौँ ।”


यस बिषयमा तपाइको प्रतिक्रिया...!