सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो ।  

सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँग ‘चार्ज स्टेसन’ राख्ने विषयमा  छलफल भइरहेको मन्त्री खतिवडाले बजेट वक्तव्यमार्फत जानकारी दिनुभयो । यात्रुले सार्वजनिक यातायातका साधन प्रयोग गर्दा शुल्क तिर्न विद्युत्तीय कार्डको व्यवस्था गरिनेछ । 

तोकिएको समयमा यात्रा शुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुग्ने सुनिश्चित गरिनेछ बजेट उल्लेख छ । 

सार्वजनिक यातायात व्यवस्थापनका लागि जिपिएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनको अनलाइन स्थिति अनुगमन गरिनेछ । सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापन गर्न मुलुकका प्रमुख शहरमा सार्वजनिक निजी साझेदारीमा बसपार्क र पार्किङस्थल निर्माण अगाडि  बढाइनेछ । यस्तै सरकारले काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख शहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । 

 सरकारले आगामी आवमा यातायात व्यवस्थापन शीर्षकमा रु एक अर्ब ५३ करोड विनियोजन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!