सुनचाँदी व्यवसायमा निर्भर मजदूर सङ्कटमा

Posted on: 01 Jul, 2020

असार १७, लम्की। सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन् । लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय  खुकुलो हुँदा पनि चल्ने अवस्था नहुँदा एक हजार जति मजदूर सङ्कटमा परेका हुन् । उसो त मजदूर मात्र होइन, स्वयम् सुनचाँदी व्यवसाय पनि धरापमा छ ।

 सरकारले यही असार १ गते लकडाउन खुकुलो बनाएपछि खुलेका सुनचाँदी पसलमा कारोवार शून्य जस्तै छ । दुई हप्तासम्म ग्राहक आएका छैनन् । पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ । सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न  सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन् । 

गत चैत १० गते सुनको मूल्य प्रतितोला रु ७६ हजार थियो आज रु ९२ हजार पाँच सय छ । कारोवार नभएपछि व्यवसायी बैङ्कको ऋणको चिन्तामा छन् भने मजदूर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन् । ‘‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन’’, सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष देवहादुर सुनारले भन्नुभयो, ‘‘चार सय व्यवसायी र एक हजार मजदूर सङ्कटमा परेको अवस्था छ ।’’ 

उहाँले काठमाडौँबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको  बताउनुभयो । ‘‘सुनचाँदी व्यवसाय सङ्कटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ । मजदूर भोकभोकै छन्’’, अध्यक्ष सुनारले भन्नुभयो, ‘‘ यति बेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ ।’’  

कैलालीमा करीब चार सय सुनचाँदी व्यवसायी छन् । लकडाउनअघि टीकापुर बजारमा मात्र हप्तामा दुई किलो नयाँ सुन खपत हुने गरेको व्यवसायीको भनाइ छ । यसबाहेक पुराना गहना किनबेच पनि उत्तिकै हुने गरेको थियो । लकडाउनमा आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री नभएको स्थानीयवासीको भनाइ छ । ‘‘समस्या पनि थियो, मूल्य पनि रामै्र थियो तर व्यापारीले सुन किन्दैनन्’’, टीकापुर–५ की झरना रिमालले भन्नुभयो, ‘‘सुन बिक्री गरेर गर्जो टार्ने भनेर आएँ । बिक्री नगरी फर्कन थाल्दै छु । सुन किन्न व्यापारीले पैसा छैन भन्छन् ।’’ 

पेशा सङ्कटमा परेपछि कतिपय मजदूरले पेशा परिवर्तन गर्न थालेका छन् । उनीहरु लकडाउन खुलेपछि नयाँ पेशा गर्ने तयारीमा छन् । लम्कीका सुनचाँदी व्यवसायी रमेश विकले व्यवसाय नचल्ने भएपछि अब परिवारमा सल्लाह गरेर अर्को व्यवसाय गर्ने सोच बनाइएको बताउनुभयो । ‘‘सुनचाँदी पसल खोल्दा लागेको ऋण थपिँदै गएको छ । नयाँ वर्षदेखि असारसम्म राम्रो कारोवार हुन्थ्यो, लकडाउनले सबै ठप्प भयो’’, विकले भन्नुभयो, ‘‘यसरी चलाउन सकिएला जस्तो लागेन । अब अर्को व्यवसाय गर्छु ।’’ रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!