सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, बजेटमाथि छलफल प्रभावित

Posted on: 23 Jun, 2019

असार ८, कैलाली | सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार ११ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

बैठक स्थगनसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि यही असार १ गते प्रस्तुत गरेको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले ‘ब्ल्याङ्क बजेट‘ ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यको अवरोधपछि प्रदेशसभाको यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । 

सभामुख अर्जुनबहादुर थापाले बैठक बस्ने वातावरण नमिलेकाले आजका लागि बोलाइएको बैठक स्थगन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठक बस्ने वातावरण मिलेको छैन, उहाँहरुबीच छलफल चलाउने पहल भइरहेको छ ।” बजेटको असन्तुष्टिका बुँदाका विषयमा प्रतिपक्षीसँग छलफल गरेर समाधानको उपाय नखोजिएसम्म विरोध नरोकिने काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!