जुम्लाको तिला नदीमा र्याफ्टिङ सफल परीक्षण, याफ्टिङमा रमाउनेको भिड (७ तस्बिर)

Posted on: 01 Aug, 2020

दान बहादुर बुढा | साउन १७, मुगु | जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजार नजिकै रहेको तिला नदीमा र्याफ्टिङ परिक्षणमा सफल भएको छ ।

र्याफ्टिङ परिक्षण सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ ।


अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर र्याफ्टिङ चलिरहेको छ । र्याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएको छन । गो कर्णालीका सञ्चालक ललित महतले अफ सिजनमा पनि तिला नदीमा र्याफ्टिङ चलाउन उपयुक्त रहेको हुनाले यो ब्यावसाय सन्चालनमा ल्याएको बताएका छन् । उनले भने, 'र्याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक र्याफ्टिङ चलिरहेको छ ।' आन्तरिक तथा बाह्य पर्यटकको जुम्ला बजारमा बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका हुन । 


छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने छ । लामो प्याकेज दानसाँघु देखि राँका  सम्म तोकिएको छ । यहाँसम्म प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्ने छ । 'फुल डे प्याकेज' का लागि २० हजार रुपैयाँ तोकिएको छ । र्याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने र्याफ्टिङ सन्चालकहरुले बताएका छन् । 


दानसाँघुबाट तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइने व्यवस्था पनि मिलाइएको र्याफ्टिङ सञ्‍चालन कम्पनीले जानकारी दिएको छ । यहाँ आउने पर्यटकले मार्सी चामलको भात, तिलामा पाइने असला माछा समेत खान पाउने छन् । र्याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सी धान, स्याउ बगैंचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिने छ । गर्मी याममा कर्णालीमा र चिसोमा भेरी नदीमा र्याफ्टिङ व्यवसाय  संचालन गरिने योजना रहेको संचालक महतले बताए छन् । उनले भने, 'स्थानीय सरकारसँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठीचौरमा समेत संचालन गर्ने योजना  रहेको छ ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!