७ छोरीपछी जन्मिएको छोराले जङ्गली फल मचैनो खाएपछी...

Posted on: 06 Jun, 2019

जेठ २३, जुम्ला (रासस) | जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा हुनुहुन्छ । घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उहाँ अस्पताल आइपुग्नुभयो । अस्पतालमा उहाँले भन्नुभयो, “यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुस् डाक्टर’साब । यो छोरो रहेन भने म पनि रहनेछैन ।” 

उहाँले छोरा जन्माउनकै लागि सात छोरी जन्माउनुभयो । उहाँले छोराको आसमा सात छोरी जन्माएको कथा सुनाउँदा उपचारमा संलग्न चिकित्सक दङ्ग परे । चिकित्सकले उपचार शुरु गरे । चिकित्सकको उपचारपछि उहाँका छोराको स्वास्थ्य अवस्था सुध्रँदै गइरहेको छ । “अहिले खेल्न र बोल्नसक्ने भएको छ”, बोगटीले भन्नुभयो, “कर्णाली अस्पताल हुँदैनथ्यो त छोरो हुँदैनथ्यो, छोरो नहुँदा म पनि यो संसारमा हुन्नथेँ होला, छोरो बाँचेकामा धेरै खुशी छु ।”

उहाँका छोराको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उहाँका अनुसार छ छोरी जन्मिसकेपछि सातौँ पटक छोरा जन्मिएको हो । “छोराभन्दा पछाडि फेरि एउटी छोरी जन्मिएकी छे”, उहाँले भन्नुभयो, “यो समाज छोरा जन्मेकामा उत्सव मनाउँछ, छोरी जन्मेकामा घृणा गर्छ । समाजकै लागि भए पनि छोरा खोजेको हुँ । छोराकै आसमा सात छोरी भए । बीचमा भाग्यवश जन्मेको यो छोरा बचाउन खुब प्रयन्त गर्दैछु ।” 

अहिले उहाँका छ छोरीको विवाह भइसकेको छ । कान्छी छोरी, एक छोरा र श्रीमती मात्र साथमा रहेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै छोरा जन्मिएको भए लालनपालनमा राहत मिल्थ्यो होला । छोरी भए, अर्काको घर गए, एक्लो बनाए । अहिले सहाराविहीनझैँ छु ।” कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले छोराको आसमा सात छोरी जन्माएका उहाँले एक्लो छोरा बचाउन गरेको हारगुहारले अस्पतालको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गली फल खाँदा त्यसको असर दिमागमा परेको देखियो । छोरो छटपटाउन थाल्यो । बाबु उपचारका लागि रोइकराइ गर्न थाले । तर बिहानै निको भएर छोरा बोल्न थालेपछि मुहारमा खुशी देखियो ।”

सात छोरीको बीचमा जन्मिएको छोरो बिरामी हुँदा घरपरिवारमा निकै रुवावासी चलेको उहाँ बताउहुन्छ । “निको भएर घर फर्कुंला भन्ने आस थिएन”, बोगटीले भन्नुभयो, “अब छोरा निको भएपछि खुशीसाथ घर फर्कंदै छु । छोराको उपचार हुन नसकेको भए म घर फर्कने थिइनँ । अब खुशीका साथ फर्कन्छु, छोराले पुनःजन्म पायो ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!