जुम्ला विमानस्थल २० दिन बन्द हुने

Posted on: 15 Apr, 2019

वैशाख २, जुम्ला (रासस) | जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो । 

अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि विमानस्थलको स्तरउन्नति कार्य भइरहेको छ । स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको हो ।”  

विमानस्थलको स्तरोन्नतिको कामले तीव्रता पाउने छ । विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको हो । विमानस्थल स्तरउन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नति कार्यमा ढिला नहुने प्रमुख शर्मा बताउनुभयो । अहिले विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने उहाँको भनाइ छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ ।

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!