शिक्षकले तलब पाएनन्

Posted on: 12 Mar, 2019

फागुन २८, जुम्ला | जुम्ला पातारासी गाउँपालिकाका शिक्षकले पाँच महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । शिक्षक तलब माग्दै सोमबार पातारासी गाउँपालिकामा पुगेका थिए । 

गाउँपालिका पुगेका शिक्षकले ज्ञापनपत्र बुझाउँदै अबको एक हप्ताभित्र स्थानीय तहले तलब भत्ता नदिए विद्यार्थीसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । समयमै तलब भत्ता निकासा नहुँदा शिक्षकलाई समस्या भएको नेपाल शिक्षक महासङ्घ पातारासी गाउँ समितिका सचिव चुडाराज न्यौपानेले जानकारी दिनुभयो । 

विभिन्न माग राख्दै गाउँपालिकालाई ध्यानाकर्षण गरिएको उहाँको भनाइ छ । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले शिक्षक दरबन्दीका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने, कात्तिकदेखि फागुनसम्मको रकम निकासा भएकाले समयमै तलब उपलब्ध गराउन माग गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । 

तलब माग्दै गाउँपालिका पुगेका शिक्षक तथा सचिव न्यौपानेले गाउँगाउँमा स्थानीय सरकार आएपछि सेवा प्रवाहमा पहिलेको भन्दा झनै ढिलाइ भएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!