खस शब्दकोश लेखनलाई बजेट

Posted on: 03 Jul, 2020

असार १९, खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको ‘बृहत् नेपाली खस शब्दकोश’को कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ (खस शब्दभण्डार)को काममा आशा पलाएको हो ।  

विसं २०६५ देखि शब्दकोश लेख्दै आउनुभएका आचार्यको काममा कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा आवश्यक बजेटको व्यवस्था गरेको छ । ढिलै भए पनि प्रदेश सरकारले खस शब्दकोश प्रकाशनका लागि बजेटको व्यवस्था गरेपछि भाषाविद् आचार्यले खुशी व्यक्त गर्नुभयो ।   यो नै खस भाषाको पहिलो शब्दकोश बन्ने उहाँको जिकिर छ । बजेट अभावका कारण हालसम्म करीब २५ हजार शब्द मात्रै सङ्कलन भएका छन् । एक हजार पृष्ठ लामो ‘खसिया आखर’ मा ४० हजारभन्दा बढी खस शब्द समेटिने आचार्यले बताउनुभयो ।

 बजेट अभावले गाउँगाउँ गएर थप शब्द सङ्कलन रोकिएको थियो । सङ्कलित शब्द कम्प्युटर टाइपिङ भएका छैनन् । शब्द वर्णानुक्रममा राख्ने र अर्थ लगाउने काम लेखक आचार्यले एक्लै गरिरहनुभएको छ । 

शब्दकोशमा तत्कालीन खस राज्य सिंजा उपत्यकाभित्र र त्यस वरपरका बस्ती तथा कर्णालीमा बोलिने भाषामा प्रयोग हुने शब्द सङ्गृहीत छन् । शब्द पुनरवलोकन गर्ने काम अन्तिम चरणमा पुगेको छ । खस भाषा अहिले कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ निर्माणमा लागिएको उहाँले बताउनुभयो । सङ्कलित शब्दमध्ये ‘अ’ देखि ‘न’ वर्णसम्मका सबै शब्द ‘कम्प्युटराइज्ड’ गरिसकिएको उहाँको भनाइ छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!