छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

Posted on: 08 Jul, 2020

असार २४, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो ।

गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

दमक– विद्युत् चुहिएर मङ्गलबार झापाको दमकमा एक युवाको मृत्यु भएको छ । दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

चिप्लेढुङ्गा– कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा मङ्गलबार ट्र्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । 

कास्की माछापुच्छ्रे बाटुलेथरमा ग१त २२८३ नंको ट्र्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्र्याक्टरले च्यापेर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । 

रेग्मीका अनुसार ट्र्याक्टरमा च्यापिएका अधिकारीको उपचारका लागि मणिपाल अस्पताल पठाएको र उपचारका क्रममा अधिकारीको मृत्यु भएको हो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!