एकैपटक तीन एनसेल टावरमा विप्लव नेकपाद्वारा आक्रमण

Posted on: 31 Jul, 2019

साउन १५, झापा | झापाका तीन अलग अलग स्थानमा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आज बिहान एकैपटक आक्रमण भएको छ।

जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी तथा बम विस्फोट गराएको हो।

भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरमा बम विष्फोट भएको छ। एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार यसअघि पटक/पटक विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि उसैले गरेको हुन सक्ने अनुमान छ।

यद्यपी घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!