प्राङ्गारिक कृषि उत्पादनमा अग्रसर गराउँदै स्थानीय सरकार

Posted on: 11 Nov, 2020

सन्तोष शर्मा । कार्तिक २६, बनियानी । पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा पनि अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ । कृषि उत्पादनलाई प्राथमिकता दिएकै कारण विर्तामोड नगरपालिका अहिले कृषि उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया कृषि क्षेत्रमा उल्लेख्यमा लगानी गरेकै कारण नगर अहिले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताउनुहुन्छ ।

स्थानीय तह पुनःसंरचनापछि बनेको विर्तामोड नगर सरकारले पहिलो आर्थिक वर्ष २०७४/७५ मै कूल बजेटको ७.४७ अर्थात् रु एक करोड ७५ लाख बजेट कृषि क्षेत्रको विकासका लागि छुट्याएको थियो । आव २०७५/७६ मा रु एक करोड ८० लाख, आव २०७६/७७ मा रु एक करोड ९० लाख र चालू आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षसहित स्थानीय सरकार सञ्चालनको चारवर्षे अवधिमा नगरको कूल बजेट रु तीन अर्ब छ करोड ८४ लाख ८० हजार छ । जसको २.३६ प्रतिशत अर्थात् रु सात करोड २५ लाख नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विनियोजन गरेको देखिन्छ । विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय तह निर्वाचनताका नै अग्र्यानिक कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो । आफ्नो चुनावी एजेण्डालाई स्थापित गर्न र नगरवासीको दैनिकीसँग जोडिएको महत्वपूर्ण पाटो कृषिलाई प्रवद्र्धन गर्न विभिन्न योजना उहाँले ल्याउनुभएको छ । जसको परिणाम अहिले नगरपालिका कृषिमा आत्मनिर्भर हुँदै गएको हो ।

नगर क्षेत्रमा हुने अधिकांश कार्यक्रममा नगरप्रमुख शिवाकोटी अग्र्यानिक कृषिका विषयमा जोड दिनुहुन्छ । अग्र्यानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्नकै लागि नगरपालिकाले मेयर विषादीमुक्त नगर कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।

 बन्दाबन्दीमा कृषकलाई साथ

कोरोना महामारीका कारण गत चैत ११ देखि मुलुक पूर्णरूपमा बन्दाबन्दी भएका बेला नगरपालिकाले कृषकलाई साथ दिएको थियो । नगर क्षेत्रमा उत्पादिन तरकारीलाई गाडीमा हालेर टोलटोलमा पुर्याइएको थियो । नगरवासीले सहुलियत मूल्यमा अग्र्यानिक तरकारी उपभोग गर्न पाउनुका साथै कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणमा मद्दत पुगेको थियो । अन्यत्रका कृषकले तरकारी नबिकेर फालेको समाचार आइरहँदा यहाँ कृषकलाई उत्पादन बेच्न कुनै समस्या छैन । यसले समेत कृषकमा उत्साह थपेको छ ।

 एक समूह, एक उत्पादन

सामूहिक खेतीको विकास गर्न नगरपालिकाले ‘एक समूह, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । सामूहिक खेती गर्ने कृषकलाई बीउ तथा मलखादमा विशेष सहयोग गरिएको छ । नगरपालिकाले आव २०७६/७७ मा पाँच नगदेबाली तोरी, राज्मा, आलु, फापर र सूर्यमुखी फूलखेतीको प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन ग¥यो ।

पहिलोपटक कार्यक्रम शुरु गरिए पनि कृषकको उल्लेख्य सहभागिता रहेको कृषि शाखा प्रमुख कडरियाले बताउनुभयो । उहाँका भन्नुभयो, “पाँचवटा समूहले ९८ बिघामा तोरी, एकवटा समूहले १८ बिघामा राज्मा, दुईवटा समूहले १० बिघामा आलु, एकवटा समूहले २० बिघामा फापर र दुईवटा समूहले ४५ बिघामा सूर्यमूखी फूलखेती गरेका थिए । “यो वर्ष खेतीको क्षेत्रफल अझ बढ्ने छ”, कडरियाले भन्नुभयो, “उत्पादन राम्रो भएपछि कृषक उत्साहित भएका छन् ।” यो वर्ष ३०० बिघामा तोरी, ६० बिघामा राज्मा, ६० बिघामा फापर, ५० बिघामा सूर्यमुखी फूल र ४० बिघामा आलुखेती गर्नका लागि कृषकलाई सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो ।

कृषिमा यान्त्रिकीकरण

नगरपालिकाले कृषिलाई युगसापेक्ष र प्रविधियुक्त बनाउन कृषि यान्त्रिकीकरणमा जोड दिएको छ । किसानसँगको लागत साझेदारीमा खनजोतदेखि काट्ने, छोडाउनेसम्मका प्रयोजनका लागि कृषि उपकरण उपलब्ध गराएको छ । हालसम्म १८ वटा पावरटिलर, ६७ वटा मकै छोडाउने मेसिन र २८ धान काट्ने मेसिन ७० देखि ८५ प्रतिशतसम्म लागत साझेदारीमा कृषि सहकारी, कृषक समूह र कृषकलाई उपलब्ध गराइएको छ ।

जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले हालसम्म ३३७ वटा मोटर बोरिङ स्थापना गरेको छ । जसले एक हजार १८० बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । चालू आर्थिक वर्षमा समेत १५० वटा साना सिँचाइ कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जसबाट थप ५२५ बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ । यो कार्यक्रमका लागि सहारा नेपालसँग लागत साझेदारी गरिएको छ ।

पकेट कार्यक्रम

नगरभित्र ‘पकेट कार्यक्रम’ अन्तर्गत दुईवटा धान पकेट र एक च्याउ पकेट कार्यक्रम सञ्चालित छन् । धान पकेट कार्यक्रमअन्तर्गत कृषकलाई बीउ, तालिम, सिँचाइ र कृषियन्त्र उपलब्ध गराइको छ भने च्याउ पकेट कार्यक्रमअन्तर्गत बीउ, यन्त्रहरु र च्याउ घर निर्माण गरिएको छ ।

त्यस्तै मेयर विषादीमुक्त नगर कार्यक्रमअन्तर्गत ११४ जना कृषकले विषादीरहित तरकारी उत्पादन गरिरहेका छन् । कार्यक्रममा आबद्ध कृषकलाई तालिम, प्रविधि, कृषि औजार र उत्पादन सामग्रीमा सहयोग गरिएको छ । कृषकलाई कृषि प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले १० वटा समूहमा कृषक पाठशालासमेत सञ्चालन गरिएको छ ।

नगरपालिकाले माटोको उर्वरशक्ति बढाउन र माटोको अम्लियपन कम गर्न कृषि चुन वितरण गर्दै आइरहेको छ । हालसम्म २७३ टन कृषि चुन वितरण गरिसकिएको छ भने धान तथा मकै बालीमा देखापरेको रोग तथा कीरा नियन्त्रणका लागि निःशुल्क विषादी वितरण गरेको छ/गरिरहेको छ । नगरपालिकाले फलफूल उत्पादनमा प्रोत्साहन गर्न हालसम्म ३२ हजार विभिन्न फलफूलका बिरुवा वितरण गरेको छ भने चालू आवमा १२ हजार थप वितरण गर्ने योजना बनाएको छ ।

अबको योजना

उत्पादनमा उल्लेख्य सफलता मिलेपछि नगरपालिकाले कृषि बजार व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । बिचौलीया मोटाउने र कृषक दुब्लाउने अवस्थाको अन्त्य गर्दै कृषकलाई मेहेनतको प्रतिफल, उपभोक्तालाई अग्र्यानिक र सुलभ मूल्यमा कृषि वस्तु उपलब्ध गराउने योजना बनाइरहेको छ ।

बजार व्यवस्थापनका लागि यहाँस्थित कृषि थोक बजारभित्र मुख्य तरकारी सङ्कलन केन्द्र र बिक्री केन्द्रहरु निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । बिक्री केन्द्रलाई नगरका अन्य क्षेत्रमा समेत सञ्चालनमा ल्याउने योजना छ । नगर क्षेत्रभित्रका कृषकले उत्पादन गरेका तरकारी अग्र्यानिक भएकाले बजारीकरण गर्न सहज हुने प्रमुख कडरियाको विश्वास छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!