तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास

Posted on: 21 Aug, 2020

भदौ ५, झापा। माइती र चेलीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउने महान चाड तीजको साइत पारेर आज झापाको शिवसताक्षीमा बाढीबाट विस्थापित एउटी एकल महिलाका लागि नगरपालिका र समुदायले पक्की घर निर्माणको शुभारम्भ गरेका छन् ।

गत असार १२ गत कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आउनुभएको थियो । उहाँको कारुणिक अवस्था सञ्चारमाध्यममा आएपछि मेची अभियानले पक्की घर बनाइदिने घोषणा गरेको थियो । आज झापाको शिवसताक्षी–११ मा सोही घरको शिलान्यास गरिएको छ ।

ताराका लागि बनाइने घरमा तीन कोठा र एउटा शौचालय रहने बताइएको छ । छानो जस्ता पाताको भए पनि घरको कोठाहरु सिमेन्ट र इँटाले बनाइनेछ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र अभियानका संयोजक विजय डालमियाले घरको संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।

नगरपालिकाले घरबारविहीन परिवारको बसोबासका लागि तोकेको जनता आवास क्षेत्रमै पाँच धुर जग्गा उपलब्ध गराएको छ । त्यहाँ यसअघि १२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।यही सालको तिहार अगावै घरको निर्माण सकेर तारालाई हस्तान्तरण गरिने मेची अभियानका संयोजक डालमियाले जानकारी दिनुभयो । घर निर्माणमा रु सात लाख लाग्ने अनुमान गरिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!