जलवायु परिवर्तको प्रभावः बेमौसममा गुराँस फुल्दा वनभरि राताम्मे

Posted on: 01 Feb, 2017

(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । 

जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ । 

“जलवायु परिवर्तनको प्रत्यक्ष असर नै हो”– जिल्ला वन कार्यालयका नेपाली शाहले भन्नुभयो, “धेरै चिसो हुने स्थानमा पुस, माघमै गुराँस फुलेको देखिएको छ ।” 

उहाँका अनुसार जलवायुमा अहिले विश्वव्यापी उष्णीकरण बढ्दो छ । विश्वव्यापी रूपमा तापक्रम ० दशमलव ०४ डिग्री सेन्टिग्रेडले बढिरहेको छ । तर, यो आधारभन्दा नेपालको औसत तापक्रम तराई र हिमालको अनुपातमा ० दशमलव ०६ डिग्री सेन्टिग्रेडले बढ्दै गएको छ । 

दुई हजार ६९० मिटर उचाइको बारेकोट क्षेत्रमा यसपटक हिउँ नै परेन । जाजरकोटकै अग्लो यो भू–भागमा बर्सेनि पुस र माघमा हिउँ पर्दै आएको थियो । नायकवाडा, रोकायगाउँ, रामीडाँडा, मजकोटलगायतका उच्च लेकमा पनि यो वर्ष हिउँ परेन । 

हिउँ नै नदेखेकाले यी क्षेत्रमा छिटो गुराँस फुलेको देख्न पाएका छन् । “अहिले पहिलोपटक पुस महिनामै मदाने जङ्गलमा गुराँस फुलेको देखें”– नायकवाडाका चक्रबहादुर सिंहले भन्नुभयो । “यो वर्ष चिसो भएको थाहा नै पाइएन, माघ महिनामै गर्मी बढ्यो”– उहाँले भन्नुभयो । माघको घामले शरीरमा पसिना आएको पहिलोपटक अनुभव गरेको अर्का जनक शाहीले भन्नुभयो । 

चिसो स्थानमा धान फल्नु र उत्पादन बढ्नु, हिउँ छिटोछिटो पग्लनु, जलवायु परिवर्तनको सकारात्मक प्रभाव भएपनि कृषिमा देखिएका नयाँ नयाँ रोग, नयाँ कीरा फट्याङ्ग्रा र फरक प्रकृतिका लामखुट्टे लगायतको वृद्धि नकारात्मक असर भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो । 

“त्यस्तै पानी पर्ने दर पनि पूर्वानुमान गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ”– थोरैथोरै पानी धेरै समयसम्म पर्ने गरेकामा अहिले लामो समय नपर्ने र प¥यो भने एकैपटक पर्ने गरेको छ । गर्मीका दिन बढ्नु र जाडोको समय घट्नु पनि जलवायु परिवर्तनकै असर भएको शाहको भनाइ छ । 

यसको प्रभावले जीवजन्तुले बासस्थान नै फेर्न थालेका छन् । यस वर्ष हिउँदे वर्षा नै नभएकाले पनि बालीनालीदेखि वनजङ्गल र जन्तुमा त्यसको असर देखिँदै जाने, आगलागीको घटनासमेत बढ्न सक्ने उहाँले बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!