संरक्षणका लागि कहिले ध्यान पुग्ला ऐतिहासिक देवलको ?

Posted on: 28 Dec, 2020

पुस १३, जाजरकोट । छेडागाड नगरपालिका–८ घोगी पजारुमा रहेका चैत्य गुम्बाअर्थात् प्राचीन देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमा परेका हुन् ।

तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेले शासन गरेको र उनीहरुले नै यी देवल बनाएको जाजरकोटको इतिहासबारे जानकारको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य गुम्बाअर्थात् देवल संरक्षणको अभावमा मासिने खतरा बढेको छ । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्नसके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयवासीको भनाइ छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । स्थानीयवासीले देवल क्षेत्र अतिक्रमण गर्दै गइरहेका छन् ।

देवल क्षेत्र ओझेल परेपछि यसको मौलिकता र महत्व पनि हराउने खतरामा पुगेको स्थानीयवासीको चिन्ता छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट देवल क्षेत्रमा पुग्नका लागि सहज पहुँच मार्ग नभएको र देवल क्षेत्रको पुनःनिर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण देवल क्षेत्र ओझेलमा परेको स्थानीयवासी रामबहादुर बिसीले जानकारी दिनुभयो  । करिब ७०० वर्षअघि निर्माण भएका ती चैत्य गुम्बाअर्थात् देवलको उचित संरक्षण र प्रचारको अभाव हुँदा बाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासी नै देवलको महत्व र ऐतिहासिकताबारे बेखबर भएका छन् । सडक पहुँच र अन्य आवश्यक पूर्वाधारको निर्माण नहुँदा महत्वहीनजस्तै बनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचारप्रचारमा सरोकावालाले उचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासी रतीवानबहादुर बुढाले बताउनुभयो ।

जाजरकोट जिल्लाका अन्य पर्यटकीय क्षेत्रभन्दा बढी सुन्दरता, कला, सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवल रहेको क्षेत्रमा पर्यटक पुग्न आवश्यक पूर्वाधार तयार नभएको उहाँले बताउनुभयो । जताततै पर्यटकीय क्षेत्रको चर्चा भइरहे पनि स्थानीय सरकार र अन्य निकायले देवल क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

पटकपटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले रु १० लाख जति रकम विनियोजन गरेको भए पनि रकम खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधारका काम हुन सकेको छैन । तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्ने गरेको छ तर उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित चैत्य गुम्बाअर्थात् देवल क्षेत्रको संरक्षण र प्रवद्र्धनतर्फ आफूहरुले विस्तृत योजनाको तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाजरकोट जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको पजारुको घोगीस्थित देवल क्षेत्र पुग्नका लागि सडक यातायातको पहुँच पुर्याउन पहल भइरहेको छ ।” जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सबै पक्ष लाग्न आग्रह गर्नुभयोे । यस्ता ऐतिहासिकस्थलको समेत प्रचार गर्नसके पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।

त्यस्तै इतिहास बोकेको भेरी नगरपालिका–१ कालेगाउँ शिवालयमा रहेका महत्वपूर्ण मन्दिरसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कच्ची सडकसँग जोडिएको भए पनि थप विकासतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । “इतिहास निर्माण गर्ने अधिकार छ तर भत्काउने अधिकार कसैलाई पनि छैन”, स्थानीयवासी सहदेव बस्नेतले भन्नुभयो । त्यस्तै जाजरकोट दरबार पनि पर्यकीय सम्भावना बोकेको एक गन्तव्य हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!