तिहारमा वत्ती जाने/आउने हुंदैन, ढुक्कले वत्ती बाल्नुस

Posted on: 25 Oct, 2019

चिसाङ शेर्पा | कार्तिक ८, खोटाङ | तिहार भनेको वत्ती नै वत्तीको पर्व हो । तिहारको मूख्य विशेषताभित्र पर्दछ विजुली वत्ती । विजुली वत्तीको यहि समयमा सवैभन्दा बढी माग हुन्छ । घरघरमा झिलीमिली पार्नलाई तिहारमा अन्य समयमा भन्दा बढी वत्तीको प्रयोग गरिन्छ । तिहारमा क्षणभरमै वत्ती जाने र आउने समस्या भने सेवाग्राहीहरुको टाउको दुखाई हो ।

तिहारमा सानाठूला शहर र दुरदराजका गाउँघरमा विजुलीको माग बढी हुन्छ । वत्ती त आउछ नै तर, मिनेट मिनेटमा वत्ती जाने हैरानीबाट यसपटक खोटाङका १४ हजार २१२ सेवाग्राही मुक्त होलान ? ढुक्कले विजुली वत्ती बाल्न पाउछन् त ? यस विषयमा नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख राम दिनेश राय यादवसँग कुराकानी ।

तिहारमा वत्ती निरन्तर बनाउन प्राधिकरण के गर्दैछ ? 

हामीले उदयपुरको जलजलेदेखी लिएर बुईपा सब–स्टेशन ६९ किलोमिटर प्रशारण लाईनमा पुरै बुस कटिङ गरायौ, लाईन मर्मत ग¥र्यौ, ११ केभी प्रशारण लाईन (५०४.७१ किलोमिटर) जुन गाउँगाउँको ट्रान्सफर्मसम्म पुगेको छ । तिनीहरुमा बुस कटिङ गरायौं, एलटी लाईन (ट्रान्सफर्मरबाट छुटेको ९३८.१७ किलोमिटर लाईन) पुरै चेक÷रिचेक गरेका छौ । 

कुनै पनि अवरोध नहोस भनेर यि लाईन मर्मतको कामहरु गरेका छौ । दशैमा पनि निरन्तर वत्ती बाल्न पाउनुभयो, त्यो भनेको लाईन मर्मतमा राम्रो भएकाले नै हो । चुस्तदुस्त मर्मत भएकाले तिहारमा पनि लाईन नियमित हुन्छ । 

तर, तिहारमा सिस्टम छिनछिनमा जान्छ नि ? यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

पहिला पावरको कमि थियो, त्यसले गर्दा लोडसेडिङ हुन्थ्यो, तर, अहिले प्राधिकरणसँग पावरको कमि छैन । पहिला हामीले वत्ती कम बाल्नु, पावर बचाई दिनु भनेर अनुरोध गर्नुपथ्र्यो, तर अहिले हामी तपाईहरुलाई वत्ती बाल्नुस, हिटर चलाउनुस, खाना लाईनमै पकाउनुहोस, वत्तीको सक्दो प्रयोग गर्नुहोस, पावर लिनुस भनेर हामीले भनिरहेका छौ । त्यस कारणले अहिलेको स्थितीमा हामीसँग प्रशस्त पावर छ । अहिलेको स्थितीमा छिनछिनमा वत्ती जाने/आउने समस्या हुंदैन ।

उसो भए यो तिहारमा सेवाग्राहीले ढुक्कले वत्ती बाल्न पाउँछन् ?

यो तिहारमा प्राकृतिक विपत्ती बाहेक खोटाङमा वत्ती जादैन । पोहोर साल पनि मैले यहि भनेको थिए । यसपाली पनि म यहि भन्छु । प्राधिकरणले गर्नुपर्ने सबै काम गरिसकेको छ । सव–स्टेशनको क्षमता डेढ एमबिए थियो अहिले तीन एमबिए बनाईसकेका छौ, त्यस कारण तपाईहरुले अहिले ढुक्क भएर वत्ती बाल्न सक्नुहुन्छ । अहिलेको तिहारमा वत्ती जाने÷आउने हुंदैन ।

तिहारमा विधुतीय घट्नाहरु पनि हुने गर्छन् । यसलाई हुन नदिन के गर्नुपर्छ ? 

हामीले पहिलेदेखी नै स्टाफहरुलाई सुरक्षा सम्बन्धि बोलाएर नै तालिम जस्तै दिइसकेका छौ । उहाँहरुलाई भनिसकेका छौ । ग्राहकहरुलाई पनि कंही तार चुडिएको छ । कंही केही भएको छ भने, प्राधिकरणलाई खबर गर्नुहोस भनेर हामीले एफएममा प्रचार गरिसकेका छौ । सकभर हाम्रो तर्फबाट कंही पनि विधुतीय घट्ना नहोस भनेर व्यापक प्रचारप्रसार गरिसकेका छौ । र, त्यस्तो घट्ना हुंदैन ।

तपाई आएपछि के,कस्ता प्रगती भए खोटाङको विधुत प्राधिकरणमा ? 

म आउदा खेरी यहाँ दिक्तेल कार्यालयमा एउटा र हलेसीमा एउटा मोवाईल काउण्टर थियो । महशुल बुझाउन दिक्तेलसम्म आउन÷जान बसमा समेत करीव पुरै एकदिन लाग्ने, ८० रुपैयाँ विधुत महशुल तिर्न ३ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता थियो सेवाग्राहीलाई । ति सेवाग्राहीलाई महिनाको २३, २४ र २५ गते महशुल तिर्नका लागि खोटाङबजारमा मोवाइल काउण्टर सुरु गरेका छौ । अहिले त्यहाँ महशुल बुझाउने कामहरु भइरहेको छ ।

बुईपा सब–स्टेशनमा डेढ एमबिएको ट्रान्सफर्मरमा तीन एमबिएको ट्रान्सफर्मर जडान गरी सब– स्टेशनको क्षमता बृद्धि गरेका छौ, एमपावर सिस्टम (कम्प्युटराईज विलिङ) लागू गरेका छौ, संसारको जुनसुकै स्थानमा वसेर मोवाइलबाट महशुल तिर्ने बनाएका छौ । २०७५ मंसिरबाट बाँकी बक्यौता हुनेको लाइन कटाउने अभियान सुरु गरेर १ करोड चार लाख बक्यौता उठायौ ।  ५१ लाख ८५ हजार ८८१ रुपैयाँमा झारेको छौ । यो कार्य अहिले पनि निरन्तर छ ।

प्राधिकरण भाडामा बसिरहेको छ, कार्यालय संञ्चालनका लागि भवन छैन । त्यसका लागि गत असार २२ गते जिल्ला प्रशासन कार्यालय नजिक जग्गा लिएका छौ । हालै विराटनगरदेखी सिभिल ईन्जिनियर बोलाएर भवनको स्टीमेटको काममा लागिरहेका छौ । विधुतीकरणका लागि ५८ वटा ट्रान्सफर्मर जडान गरेका छौ । जिल्लामा ६० प्रतिशत विधुत विस्तारको काम सकेका छौ । दुई नगरपालिका र आठ गाउँपालिकाको अधिकांश स्थानमा वत्ती बालिएको र आशिंक स्थानमा बाँकी रहेको छ । वाँकी कामहरु रफ्तारमा भईरहेको छ । तीन वर्षमा पुरै विधुतीकरण गर्ने सरकारको लक्ष्य छ । त्यो भन्दा पहिला नै मलाई लाग्छ खोटाङमा विधुत विस्तार भईसक्नेछ । यो खोटाङगेका लागि खुशीको कुरा हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!