समायोजन प्रकृया तदारुकता साथ टुङ्गयाउन पहल गर्छौ: सभापति सिंह

Posted on: 26 Mar, 2019

चैत १२, कंचनपुर | लामो आन्दोलनको बलबाट  २०६७ स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय मा पहिलो पटक आठौँ बर्षमा गएर विश्वविद्यालयले प्राध्यापक संघ पाएको छ । प्राध्यापक संघको निर्वाचनबाट केन्द्रिय क्याम्पसका ग्रामिण बिकासका उप प्राध्यापक बिर बहादुर सिंह सभापतिमा निर्वाचित हुनु भएको  छ । उहाँसंग विश्वविद्यायलयको समसामयीक बिषयमा पत्रकार मदन राज जोशीले गरेको कुराकानी ।   

सु प. वि प्राध्यापक संघ तदर्थ समितिको सयोजक वाट सु. प. वि प्राध्यापक संघको निर्वाचित सभापतिको रुपमा नेतृत्व गर्न अवसर प्राप्त भएको छ, तपाईलाई कस्तो लागेको छ ?

सू. प. वि.वि. प्राध्यापक संघको प्रथम अधिविशनवाट साथीहरुले मलाई विश्वविद्यालयको सभापति जस्तो गरिमामय पदमा निर्वाचित गराउनु भएको छ । यस अवसरमा म सम्पूर्ण प्राध्यापक ज्यूहरु लगायत सवै सहयोगी एवं शुभच्छुेक मित्रलाई हार्दिक धन्यवाद दिन चाहन्छु । प्राध्यापक सर र म्याडमहरुले मलाई एउटा महत्वपूर्ण जिम्मेवारीमा पु¥याउनु भएको छ । मैले पाएको जिम्मेवारी इमानदारीका साथ वहन गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । कर्तब्य विमुख नभै उच्च मनोवलका साथ विश्व विद्यालयको सर्वोतम हितलाई ध्यानमा राखि आपसी सहकार्यका आधारमा रचनात्मक कार्यमा लागि रहने छु ।

सु.प.विश्वविद्यालयको ऐन र नियमावलीमा प्राध्यापकहरुको साझा संगठनको रुपमा प्राध्यापक संघको व्यवस्था गरेको छ । विश्व विद्यालयमा प्राध्यापक संघको  भुमिका एव दायित्व कस्तो रहन्छ ?

सु. प. वि विश्वविद्यालयको ऐन एंव नियमावलिले विश्व विद्यालयमा प्राध्यापक संघको व्यवस्था गरेको छ । प्राध्यापक संघको मुख्य भूमिका भनेको विश्व विद्यालयका शिक्षकहरुको पेशागत हकहित र प्राज्ञिक उन्नयनको लागि आवश्यक कार्य गर्नु नै हो । शिक्षकहरु विश्व विद्यालयको मुख्य पक्ष भएकोले विश्व विद्यालयको शैक्षिक एवं प्रशासनिक वातावरण अनुकुल वनाइ राख्न र गुणस्तरिय उच्च शिक्षा प्रदान गरि योग्य जनशक्तिको उत्पादन गर्नु मा हाम्रो भुमिका रहेने छ । यसका साथै आवश्यक अन्य कार्यमा समेत प्राध्यापक संघको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका भइ नै हाल्छ ।

 सु. प. वि विद्यालयमा दुई वटा प्राध्यापक संघ केन्द्रिय समिति र यस मातहतको अधिकांश क्याम्पसमा दुइ–दुइ वटा प्राध्यापक संघ एकाई समिति गठन भएका छन । यसले प्राध्यापक संघको वैधता र आधिकारिकताको सम्वन्धमा अन्योलता ल्याएको छ । यस वारेमा के भन्नु हुन्छ ?

 तपाईले भनेको ठिकै हो । अहिले प्राध्यापक संघको वैधतता र आधिकारिका सम्वन्धमा विवाद चलिरहेको छ । मेरो नेतृत्वमा सु.प.वि.वि. प्राध्यापक संघ गठन भइ सकेपछि केहि साथीहरुले दुइ दिन पछि अर्को समान्तर प्राध्यापक संघ गठन गरेको सुन्नमा आएको छ । तत्कालिन समयमा  प्रिन्सिपलले गरेको शिक्षक तथा कर्मचारीको नियुक्तलाई वदर गराउन वनेको कार्यदल आज आएर विश्व विद्यालयको ऐन र नियमावलीलाई पूर्णरुपमा वेवास्ता गर्दै धज्जी उडाउदै लहडमा गठन भएको प्राध्यापक संघ प्रकृया र वैद्धताको कसिमा खरो भएको दावि गर्दैछ यो भन्दा हाँस्यस्पद के हुन सक्छ र ? विश्वविद्यालयको ऐन र नियमावलि वमोजिम नवनेको प्राध्यापक संघ कसरी वैध र आधीकारीक हुन्छ ? सवै कुरा जाने वुझेका विद्वान मित्रहरुमा यस्तो बालहट देखा पर्नु राम्रो संकेत होइन । यो प्रवृतिले विश्वविद्यालयलाई सहि दिशा अवलम्बन गर्न सघाउदैन ।

 तपाइकै केहि साथीले वनायको अर्को समानान्तर प्राध्यापक संघले आफ्नो गठन नेपाल प्राध्यापक संघको सल्लाह र निर्देशनमा भएकोले वैध र आधिकारिक प्राध्यापक संघ भनि दावि गर्दै छन, यसमा तपाईकोे केही भन्नु छ ?

 राज्य होस् या कुनै पनि संघसंस्था निश्चित ऐन नियम, विधिविधान र प्रक्रया मार्फत संचालन भइरहेका छन् र हुनु पनि पर्छ । अहिले को लोकतान्त्रिक राज्यले कानूनी राज्यको परिकलपना गरेको छ । कानूनको सर्वोच्चता स्विकारेको छ । त्यस्तो भन्ने मित्रहरुलाई के निवेदन गर्न चाहन्छु भने विश्वविद्यालयको ऐन र नियममा प्राध्यापक संघको गठन र संचालन नेपाल प्राध्यापक संघको सल्लाह र निर्देशनमा हुने छ भनि लेखेको छ भने देखाइ दिनुहोस् तर उहाँहरुको तर्क दावा भन्दा फरक व्यवस्था विश्वविद्यालयको ऐन र नियमावलीमा गरेको छ र उहाँहरुले वैध भनेको प्राध्यापक संघ विश्वविद्यालयको एन र नियमावली वमोजिम गठन भएको छैन । विश्वविद्यालय प्राध्यापक संघको गठन कुनै हालतमा सम्बन्धित व्यक्तिको अन्तनिहीत अभिष्ट पुरा गर्नको लागि हुन सक्तैन । एकातिर प्राध्यापक संघले विश्वविद्यालयमा देखिएका सबै खाले विसंगति र विकृतीलाई हटाउन भुमिका खेल्ने छ भन्ने अर्को तिर ऐन र नियमलाई धोति लगाएर स्वार्थ पूर्तिको खातिर प्राध्यापक संघ गठन गर्दा विश्वद्यिालयको विकृति र विसंगतिको स्रोत नै आफै भएको देखिन्छ त्यसो कार्य नगर्नलाई हामी संग असहमती राख्ने विद्वानमित्रहरुलाई विनम्रताका साथ अनुरोध गर्दछौं ।

तपाईहरु विच जस्तो सुकै विवाद देखिए पनि विश्वविद्यालयमा गठन भएका दुइवटै प्राध्यापक संघलाई  सम्बन्धीत निकायले कसरी आधिकारीकता एवं मान्यता दिन्छ होला ? तपाइको विचारमा यो विवादलाई सामाधान गर्न के–के गर्न सकिन्छ ?

 विश्वविद्यालयको जुनसुकै निकाय एवं अधिकारी पनि विश्वविद्यालयको ऐन, नियमावली र कार्यविधी वमोजिम गठन एंव नियुक्त भएकोले ऐन र नियामावलीले एउटै प्रध्यापक संघको व्यवस्था गरेकोले दुइ वटा प्राध्यापक संघलाई आधिकारीकता एवं मान्यता दिन सकिदैन । मिल्नुको विकल्प छैन । तसर्थ हामीसग असहमत हुने मित्रहरुलाई सर्वप्रथम अहमता र दम्भलाई त्यागि वार्ता र छलफलमा आउन अनुरोध गर्दछौं ।

उहाहरुलाई साच्चै यो विवादलाई मिलाउने इच्छा छ भने आउनुहोस् छलफल गरौ दुवै पक्षलाई मान्य हुने गरी निश्कर्ष निकालौ ।

मेरो विचारमा विश्वविद्यालयको ऐन र नियमावलीमा उल्लेख गरिएको व्यवस्था वमोजिम पहिला प्राध्यपक संघको गठन र संचालन सम्वन्धमा कार्यविधि वनाऊ, तत्पश्चात सोहि वमोजिम प्राध्यापक संघ गठन गरौं  यो नै वैधानिक र आधिकारिक प्राध्यापक संघ गठन गर्ने उपयुक्त मार्गचित्र हो ।

 विश्वद्यिालयमा सुदूरपश्चिमका कैलाली बहुमुखी क्यामपस लगायत १४ वटा क्याम्पसको समग्र समायोजनको सम्वन्धमा तपाइको धारणा के छ ?

 सु.प.विश्वविद्यालयको स्थापना ऐन बमोजिम २०६७ सालमा भएको हो । यसले स्थापनाकाल देखि नै विश्वविद्यालयको विकास र विस्तारको सवालमा विभिन्न खाले वाधा अड्चन व्योहरदै आएको छ । विश्वविद्यालयको ऐनमा नेपाल सरकारवाट अनुदान प्राप्त गरि त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा कञ्चनपूर जिल्लाको भी.न.पा. १८ मा संचालित सिद्धनाथ विज्ञान क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पस सिद्धनाथ वहुमुखी क्याम्पसलाई सयुक्त रुपमा समावेश गरि सोहि परिसरमा यो विश्व विद्यालयको स्थापना गरिने छ भनेको छ तर विडम्वना हालको मिति सम्म सिद्धानाथ विज्ञान क्याम्पसलाई ऐन वमोजिम समायोजन गर्न सकिएको छैन । लामो समयसम्म सु.प. विश्वविद्यालयको एक मात्र क्याम्पसको रुपमा त्रि.वि.वि.को सम्वन्धन प्राप्त क्याम्पस सिद्धनाथ वहुमुखि क्याम्पस रहेको सन्दर्भमा मिति ०७५।४।१ देखि सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाको १४ वटा क्याम्पसहरु आंगिक क्याम्पसको रुपमा समायोजनको प्रकृ्रयामा छन । नेपाल सरकारले कैलाली वहुमुखी क्याम्पस लगायत १५ वटै क्याम्पसको लागि ४४४ दरवन्दी स्विकृत गरेको छ । सो दरवन्दी मध्ये शिक्षक तर्फ ३१४ र कर्मचारी तर्फ १३० रहेका छन् । ४४४ दरवन्दी मध्ये २१७ जना शिक्षक र ७५ जना कर्मचारी समायोजन भइ सकेका छन् । वाँकि स्विकृत दरवन्दीमा कैलाली वहुमुखी क्याम्पसको शिक्षकको दरवन्दी ७३ छ भने कर्मचारीको ३७ रहेका छन् । आजको मिति सम्म कैलाली वहुमुखी क्याम्पसले औपचारिक रुपमा समायोजन प्रकृयामा सहभागी भएको छैन । कैलाली बहुमुखि क्याम्पसलाई छिटो भन्दा छिटो समायोजन गर्नका लागि मेरो नेतृत्वको प्राध्यापक संध केन्द्रिय समिति र प्रत्येक क्याम्पसमा रहेका प्राध्यापक संध एकाइ समितिले  आवश्यक प्रभावकारी भूमिका निर्वाह गर्ने छ । १४ वटा क्याम्पसमा समायोजनको नियुक्त पाउन वाकि रहेका २४ जना शिक्षक र १८ जना कर्मचारीलाई यथाशिघ्र समायोजनको नियुक्त दिन माग गरेका छौ । मेरो नेतृत्वको प्राध्यापक संघले कैलाली वहुमुखी क्याम्पस लगायत १४ वटै क्याम्पसको समायोजन प्रकृयालाई तदारुकताको साथ टुङ्गाई शैक्षिक वातावरणको निर्माण गर्न विश्वविद्यालयको कुलपति, सहकुलपति, उपकुलपति र रजिष्टार लाई भेटि ज्ञापन पत्र दिने कार्य सम्मपन्न गरेका छौ ।

समग्र समायोजन प्रकृयालाई विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई न्याय हुने गरि सम्पन्न गर्नु पर्छ भन्ने धारणा मेरो र म नेतृत्वको प्राध्यापक संघको रहि आएको छ ।

 सु.प. वि. विधालयका प्राध्यापकहरुको समस्या र चुनौति के कस्ता रहेका छन् सो निवारण गर्न तपाइको के पहल रहने छ ?

 कैलाली वहुमुखी क्याम्पस लगायतका सुदूरपश्चिमका १४ क्याम्पसको समायोजन प्रक्रया पेचिलो वन्दै गएको जस्तो देखिन्छ । विश्वविद्यालयको उपकुलपती र रजिष्टार निलम्वनमा परे पछि विश्व विद्यालयमा प्राध्यापकहरुको समस्या एवं चुनौतिको चाङ्ग लागेको छ । विश्व विद्यालयमा अन्योलता र अनिश्चिताको वादल मडारियको छ जसको असर प्राध्यापकहरुको पेशागत जिवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परेको छ । विश्वविद्यालयमा पदाधिकारी रिक्तताले गर्दा विश्वविद्यालयको क्याम्पसहरुमा हुने अध्ययन कार्य वाहेक अन्य गति विधिहरुमा विस्तारै कमि आउदै गएको छ । विश्वविद्यालय वर्तमान समयमा नेतृत्व विहनताको अवस्थामा छ जसले गर्दा विश्वविद्यालयमा अन्योलता अस्तव्यस्तता र अराजकता मौलाउदै गइरहेको छ जसको प्रत्यक्ष शिकार प्राध्यापकहरु बनेका छन् । तसर्थ यथासिघ्र पदाधिकारीको सम्बन्धमा एउटा उचित निर्णयमा पुगी विश्वविद्यालयमा भएका पदाधिकारी रिक्तताको अन्त गर्न कुलपति र सहकुलपति समेत ज्ञापन पत्र बुझाएका छौं ।

सु.प.वि.विद्यालयमा आगिक क्याम्पसको रुपमा समायोजन भएका १४ वटा क्याम्पसको शिक्षक तथा कर्मचारीहरुले १० महिना सम्मको तलव भत्ता नपाएको अवस्था छ भोको पेटले कति दिन काम गर्न सकिन्छ र ? विश्वविद्यालयका आंगिक क्याम्पसमा समायोजनको नियुक्ति नपाएका प्राध्यापकहरुको पेशागत जीवन अध्यारो तिर धकालिएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा विगत लामो समय देखि प्राध्यापनरथ प्राध्यापकहरुको स्थायित्वको प्रकृ्रया ओझेलमा परेको छ जसले गर्दा उहाँहरुमा पेशागत सुरुक्षाको प्रत्याभूति कम हुदै गएको छ ।

कतिपय क्याम्पसहरुको भौतिक अवस्था नाजुक रहेको छ, परिणाम स्वरुप पठनपाठन कार्य सहज ढंगले सम्पन्न गर्न प्राध्यापकहरुलाई अप्ठयारो भएको छ । विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको अवकाश पछि पेन्सन तथा उपदानको सम्वन्धमा विश्व विद्यालय मौन रहेको देखिन्छ ।

प्राध्यापकहरुको क्षमता अभिवृद्धि तथा पेशागत विकासको लागि आवश्यक, अभिमुखिकरण कार्यक्रम, अध्ययन तथा अनुसन्धनात्मक क्रियाकलापको व्यवस्था भएको छैन । यि सवै खाले समस्याहरुको सामाधानको लागि हामीले सम्वन्धित निकायसंग वहस प्रभावकारी वहस, पैरवि र पहल गरीरहेका छौ ।

 विश्वविद्यालयका प्राध्यापकहरु टयुसन कोचिङ्ग कलास देखि नीजि लगायतका शैक्षिक संस्थाहरुमा काम गर्न गइरहेका छन् , यो सम्वन्धमा तपाईले नेतृत्व गरेको प्राध्यापक संघको धारणा के हो ?

 विश्व विद्यालयले तोकेको समय वाहेक अन्य समयमा प्राध्यापकहरुले आफ्नो सिप र श्रमलाई आ–आफ्नो स्तर अनुसार खपत गर्न विश्वविद्यालयको ऐन नियमावलीले वन्देज लगाएको छैन तथापि दोहोरो प्राध्यापनलाई उचित व्यवस्थापन गर्न नसक्दा विश्वविद्यालयको शैक्षिक वातावरणमा प्रतिकुल असर परेको देखिन्छ । दोहोरो प्राध्यापनलाई व्यवस्थापन गर्ने सम्वन्धमा कुनै पनि शिक्षकको फरक मत छैन होला यसमा सवै एक मत हुन आवश्यक छ ।

विश्वविद्यालय वाहेकका शैक्षिक संस्थामा पूर्णकालिन शिक्षण कार्य वा पदाधिकारी भएर वस्नु स्वयं प्राध्यापकको लागि त्यति शोभनिय हुदैन । प्राध्यापकले आफ्नो नैतिक धरातल मजवुद राख्नु पर्छ  । अन्य शैक्षिक संस्थामा गरिने शिक्षण कार्यलाई विश्वविद्यालयको सम्वन्धित निकायले अनुगमन र नियन्त्रण गरोस दोहोरो प्रध्यापनलाई वेवस्थीत गर्नका लागि कार्य विधि बनाइ लागु गरियोस् यसमा हाम्रो पनि रचनात्मक सहयोग र साथ रहन्छ ।

 विश्वविद्यालयमा विद्यार्थीले पाठयक्रम देखि पाठय पुस्तक लगायत आवश्यक शैक्षिक सामाग्रीको अभावको समस्या भोगि रहेका छन् यो समस्या कसरी समाधान गर्न सकिन्छ होला ?

 विश्व विद्यालय स्थापना भएको केहि वर्ष मात्र भएको छ । सुरुवाति दिनहरुमा यस्ता खालको समस्या प्रत्येक विश्व विद्यालयले भोगेको पाइन्छ । यो क्रमश ः समाधान हुदै जान्छ ।

अहिले पाठयक्रम पूर्णरुपमा निमार्ण भइसकेका छन् र प्रत्येक विषयको पाठयक्रम पुस्तक पसलमा पनि उपलब्ध हुने व्यवस्था गरिनु पर्छ । विश्वविद्यालयको विकास र विस्तार भई १५ वटा क्याम्पसमा पठन पाठन संचालन भइरहेको अवस्थामा पाठय पुस्तक लेखनको कार्यलाई दुर्त गतिमा अगाडि वढाउनु पर्छ । अन्य शैक्षिक सामाग्रीको उचित व्यवस्था गर्न विभागिय लाइव्रेरी को स्थापना गरिनु पर्छ । यो कार्यमा विश्व विद्यालयले सहयोगी भूमिका निवार्ह गर्न पर्छ ।

मैले सोध्न छुटेको र तपाईले भन्न छुटेको केहि छ ?

 सवै विषय वस्तुको वारेमा सामन्यतया छलफल भई सकेको छ । अत्यमा  विश्वविद्यालयको विकास र विस्तारलाई गति दिन र नमुना विश्वविद्यालयको रुपमा चिनाउन हामी सबैले धेरै मेहनत गर्नु पर्छ । विश्व विद्यालयमा हुने कार्यमा सवैको सक्रिय सहभागिता र एकता आवश्यक छ । विश्वविद्यालयको सरोकारवाला विचको मजबुत एकता सहितको सकरात्मक सामुहिक सहकार्य बाट मात्रै सुप विश्वविद्यालयको दिगो विकास गर्न सकिन्छ भन्नेमा म पुर्ण विश्वस्त छु ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!