चुनावी नतिजाले बाम एकतामा फरक पार्दैन, एकता हुन्छ हुन्छ– देवेन्द्र पौडेल

Posted on: 04 Dec, 2017

बागलुङ जिल्लाको बागलुङ न.पा. वडा नं. १२, अमलाचौरमा बुवा पदमपाणि पाध्या र आमा रेवती पाध्याको कोखबाट मिति २०२१ साल पौषमा जन्मिनु भएका देवेन्द्र पौडेल नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हुनुहुन्छ । २०३५ सालदेखि राजनीतिमा होमिनुभएका उहाँले २०४५ सालमा वलावती शर्मासँग जनवादी विवाह गर्नुभएको थियो । दुबै श्रीमान् श्रीमती राजनीतिमा लागेका कारण परिवारबाट धेरै टाढा रहनु पर्यो । अक्कलझुक्कल भेट हुने वलावती शर्मा र देवेन्द्र पौडेल पार्टीले जहाँ खटायो त्यहीं क्षेत्रमा आफ्नो मोर्चा सम्हाल्नुभयो । धेरैपटक सुरक्षाफौजबाट ज्यान जोगाउन सफल उहाँसँग जेलनेल र प्रहरी हिरासतको अनुभव पनि ताजै छ । बाम गठबन्धन बनेपछि बागलुङ क्षेत्र नं. २ मा प्रतिनिधि सभाको उम्ेवार बनेका उहाँ मंसिर १० गतेको चुनाव सकाएर पर्वतको चुनावमा बाम गठबन्धनलाई जिताउन कुश्मा आएको समयमा पौडेलसँग गरिएको सार संक्षेप ः

बाम गठबन्धनले जित्यो भने मुलुकमा अधिनायकवाद लादिन्छ भन्ने लोकतान्त्रिक गठबन्धनको प्रचारशैलीलाई कसरी हेर्नुभएको छ ?
बामपन्थी भनेकै सबभन्दा बढी लोकतन्त्रवादी हुन्छन्, प्रतिस्पर्धा, मानवअधिकार, लोकतन्त्रलाई स्वीकार्ने बामपन्थी हुन्छन् । त्यसैले हामीले स्वीकार गरेको कुरालाई उनीहरुले फरक कोणबाट परिभाषित गर्ने कुचेष्टा मात्र गरेका हुन् । बाम शक्तिहरुको दुई तिहाई आउने र आफूहरुले हिजोको जस्तै तरिकाबाट मिलेर देश लुट्ने कार्य गर्न नपाइने पीडाले तड्पिएर चलाइएको नियोजित हल्ला शिवाय केही होइन । नेपाली काँग्रेसले ००७ सालदेखि भन्दै आएको कुरा हो यो । उनीहरुनै अलोकतान्त्रिक छन्, उनीहरुमा आन्तरिक लोकतन्त्र छैन । उनीहरु आफै लोकतन्त्रवादी नभएकोले अरुलाई त्यति तुच्छ कुरा गर्न सुहाउँदैन ।

तपाई आफ्नो निर्वाचन क्षेत्र सकाएर पर्वत आउनु भएको छ । यहाँका बामले जित्नुपर्ने कारण के छ ?
पर्वत जिल्लामा आफैमा एउटा महत्वपूर्ण जिल्ला हो । यहाँ शिक्षा, पर्यटन र कृषिमा प्रचुर सम्भावना छ । सम्भावित प्रदेश राजधानी पोखरासँग जोड्ने हिसावले यो जिल्लाको महत्वपूर्ण भूमिका रहेको छ । भोलि बामपन्थी सरकार बन्ने लगभग निश्चित छ । त्यसपछि सरकारबाट विकास निर्माण र आर्थिक समृद्धिका एजेण्डा ल्याउन तथा स्थानीय विकासलाई प्रदेश र संघसँग जोड्न यहाँका बाम प्रतिनिधिले जित्नुपर्छ । त्यसका लागि यहाँ गाह्रो छैन । बाम नेताहरु अन्य नेताभन्दा धेरै अगाडि रहेको मैले पाएको छु ।

तपाई राष्ट्रिय व्यक्तित्व पनि हो । पर्वतको समग्र विकासको परिकल्पना कसरी गर्नुभएको छ ?
म व्यक्तिगत रुपमा पनि पर्वतसँग परिचित छु । म भूमिगत कालमा तत्कालीन सबै गाविसमा म पुगेको छु । यहाँका जनतासँग प्रत्यक्ष साक्षात्कार गरेको छु । यहाँका जनता परिवर्तनशील छन् । यहाँ प्रचुर सम्भावना छ । प्रकृतिले सौन्दयर्ता दिएको छ । कालीगण्डकीले घेरिएको जिल्ला पनि हो यो । यहाँ कालीगण्डकी ए जलविद्यूत आयोजनाको पनि सम्भावना नजिकिएको छ । त्यस्तै प्रदेश नं. ४ को आर्थिक समृद्धिको नयाँ ढोकाको रुपमा हेरिएको कोरल्ला नाका खोल्ने र चिनका पर्यटकरुलाई बुद्ध भूमि लुम्विनी पुर्याउने तथा भारतीय पर्यटकहरुलाई प्रसिद्ध तीर्थधाम मुक्तिनाथ पुर्याउने कार्यका लागि पनि हामीले प्रयास गरिरहेका छौं । यो जिल्लाबाट कालीगण्डकी लोकमार्ग र पारीबाट कालीगण्डकी करिडोर सँगसँगै विकास हुनेछन् । यी दुवै सडकहरुको स्तरोन्नति हुने र दुवै सडकबाट भारतीय तथा चिनिया पर्यटकहरु ओहोरदोहोर गर्ने हुँदा पर्वत तथा बागलुङ जिल्लाले यसको समुचित लाभ लिने कुरालाई हामीले प्रमुखताका साथ लिएका छौं । त्यसैगरी कुश्मा–नेपाने मोटरेवल पुल निर्माणका लागि प्रारम्भिक सर्भे भइसकेको छ । चिनमा धेरै अगाडि यो भन्दा लामा लामा पुल निर्माण भइरहेको र नेपालमा पनि सो प्रविधि भित्र्याउन हाम्रै पालामा पहल भएको थियो ।

त्यसका लागि अब फेरि घनिभूत रुपमा लागिनेछ र कुश्मा ज्ञादी जोड्न पनि मोटरेवल पुल निर्माणका लागि समेत हाम्रो प्रयास उत्तिकै रहनेछ । कुश्माबजार र ज्ञादी क्षेत्र एउटै नगरपालिका भएकोले यहाँ पनि सो पुलको उत्तिकै महत्व र आवश्यता हामीलाई बोध भएको छ । यसका अतिरिक्त मध्यपहाडी लोकमार्ग हुँदै पूर्वपश्चिम यातायातको पहुँच सहज गराउने, सडक स्तरोन्नति गर्ने र कुश्मा बागलुङलाई व्यापारिक हव बनाउने कुरा पनि उत्तिकै चासोका साथ हेरिनेछ । त्यसका अलवा प्रदेश राजधानी पोखराको पामे वा आपपासबाट डिमुवा वा आसपासको क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्ने र मध्यपहाडी लोकमार्ग छोट्याउने भन्ने पनि वहस चलिरहेको छ । साथै पोखरा आएको रेललाई पर्वत, बागलुङ हुँदै रुकुम रोल्पा तथा सुदुर पश्चिम लैजानका लागि पनि सुरुङ मार्ग उपयुक्त विकल्पको रुपमा हेरिएको छ । पर्यटन प्रवद्र्धन, विद्युत र कृषि यी तीन मुख्य कुरामा पर्वतको अथाह सम्भावना छ । यी सबै पक्षलाई टेवा पुग्ने गरी कोरल्ला नाका, कालीगण्डकी लोकमार्ग, मध्यपहाडी लोकमार्ग, सुरुङ मार्ग, मोटरेवल पुल निर्माणको प्रक्रियालाई अघि बढाउने कुरा प्राथमिकतामा रहनेछन् । शुरु भइसकेका योजनाहरु अघि बढाउने र शुरु नभएका योजनाहरुको तत्काल सम्भाव्यता अध्ययन गराइनेछ ।
पर्वतको समग्र चुनावी प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ?
मैले पर्वतको चुनावलाई खासै प्रतिस्पर्धात्मक छ भन्ने रुपमा बुझेको छैन । विगतमा माओवादी एक्लै पनि काँग्रेससँग हाराहारीमा थियो । एमालेले पनि पटक पटक सानो मतान्तले मात्र हारेको हो । ०४८ सालको चुनाव त एमाले नै जितेको थियो । त्यसैले फरक फरक ठाउँबाट लडेको भएन तीन पार्टीबीच प्रतिस्पर्धा छ भन्न सकिन्थ्यो तर ठूला दुई पार्टी एकातिर भइरहेको सन्दर्भमा काँग्रेससँग प्रतिस्पर्धा छ भन्ने नै गलत हो । भारी मतान्तरका साथ बाम उम्मेदरवाहरुले जित्छन् भन्ने कुरा मैले पाएका सूचनाहरुका आधारमा, जनमत बुझेको आधारमा म ठोकुवा गर्न सक्छु । पर्वत मात्र नभएर धौलागिरीका सबै जिल्लामा नै हाम्रो जित सुनिश्चित छ । हामी नेपाली काँग्रेसलाई शून्यप्राणमा झार्ने हाम्रो योजनाले सार्थकता पाउने कुरामा दुई मत छैन ।
यहाँका बाम उम्मेवारको विजय अभियानमा यहाँको भूमिका के रहन्छ ?
खासै लामो समय त मसँग अब छैन । तैपनि यहाँका जनप्रनिधिहिरुलाई जिताउने कुरामा म लागिरहेको छु । यहाँ बागलुङ क्षेत्रका पनि धेरै मानिसहरु रहेकोले उहाँहरुसँग हाम्रो अभियान लिएर जाने कुरा गरिरहेको छु । हामीबीच पार्टी एकताका लागि समेत सहमति भइरहेकोले हामीबीचका सानातिना कुरामा अल्झिन हुँदैन । अब एमाले र माओवादी फरक फरक पार्टी होइनन् भन्ने कुरा आम जनमानसमा सुसुचित गराउने कुरामा लागिरहेको छु । त्यसका अलवा वैदेशिक रोजगारीमा जानेहरुका लागि भोलि हामीले गर्न सक्ने कुराहरु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा हाम्रा कुराहरु प्रष्ट राख्दै र नेपाली काँग्रेसहरुले फिँजाएका हल्लाहरु चिर्ने कुरामा मेरो भूमिका रहनेछ । हाम्रो यो एकताबाट जनताहरु हर्षित छन् । करीव दुई तिहाई मत हामीले प्राप्त गर्ने कुरामा देशमा आएको उभारले देखाएको छ । यी कुराहरु मैले जनतासामु राखेर प्रष्ट पारेको छु ।
तपाई निर्वाचन लड्नु भयो । यो निर्वाचन प्रणाली आर्थिक नहुनेका लागि गाह्रो भएन र ?
हो । यो प्रणाली हामी जस्ता गरीव देशका जनताका लागि गाह्रो विषय हो । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बाहेक अन्यत्र सबै क्षेत्रमा समानुपातिक प्रणाली अपनाउँदा राम्रो हुने मेरो अनुभव छ । यो विषयमा घनिभूत छलफल गरिनेछ र कम खर्चमा निर्वाचन गर्ने परिपाटीको विकास गर्ने दिशामा हामी लागि पर्नेछौं ।
हेवीवेटका नेताहरु उठिरहेका हामीले पाएका छौं । के प्रचण्ड, ओली र नारायणकाजी उठेको ठाउँमा जित निश्चित छ ?
हाम्रा नेताहरु भएको ठाउँमा जित लगभग निश्चित जस्तै छ । केपी ओलीको ठाउँमा प्रतिस्पर्धा नै छैन । उहाँको जित निश्चित छ । प्रचण्डको क्षेत्रमा म ३ दिन विताएर आएको छु । उहाँको क्षेत्रमा पनि जित निश्चित जस्तै छ । जहाँसम्म नारायणजीको क्षेत्रमा बाबुराम जि उठ्नु भएको छ । त्यहाँ दुवैजना सदनको लागि चाहिने नेताहरु हो । तर बाबुराम जीले धैर्यता गर्न सक्नु भएन । मैले यत्ति भन्न सक्छु कि जनउभारका हिसावले सबै हाम्रै नेताहरुले जित्नुहुन्छ । तर बाबुराम र नारायणकाजी दुवै चाहिने नेता हो ।

कोरल्ला नाका खोल्ने भन्ने कुरा त हजुरले गर्नुभयो तर चिनिया पक्ष कोरल्ला नाका खोल्न त्यति उदार छैन भन्ने कुरा बाहिर आएको छ नि ?
कुरा त्यस्तो होइन । हामीले नेपालको पक्षबाट राम्रोसँग कुटनीतिक पहल नगरेकै कारण यो अवस्था आएको हो । चिनिया पक्ष नेपालसँगको सम्बन्ध जोड्ने कुरामा आतुर छ । व्यवसायिक रुपमा नभई समग्र चिनलाई जोड्ने र चिनसँगको सम्बन्ध सुमधुर गराउन हामीले गर्ने सहजीकरणमा भर पर्छ । प्रदेश नं. ४ को मुख्य जिम्मेवारी नै यो हुनेछ । आर्थिक समृद्धिका लागि यो नाका खोल्ने प्रदेश नं. ४ को मुख्य एजेण्डा हुनेछ ।
चुनावी परिणाम तलमाथि भयो भने के पार्टी एकता हुन्छ ?
अवश्य हुन्छ । यो एमाले र माओवादीको पार्टीगत स्वार्थ भन्दा माथि उठेर सहमति भएको विषय हो । हामी दुईतिहाई कम्युनिष्ट भएको ठाउँमा तेश्रो पक्षले सधैं शासन चलाइरहने अवस्था रहेसम्म देशको विकास नहुने हुँदा समाजवाद उन्मुख हामी दुई पार्टी धेरै हदसम्म मिलिसकेका छौं । हामै्रै पालामा यो कार्यभार पूरा गर्नका लागि दुई पार्टी नमिल्नुको विकल्प छैन ।

अन्त्यमा पर्वतका जनतालाई केही भन्नु छ कि ?
हामी पार्टीगत स्वार्थ भन्दा माथि उठेर हाम्रै पालामा परिवर्तन ल्याउने, हाम्रै पालामा विकास र समृद्धिको अनुभूति दिने सोचका साथ अघि बढिरहेका छौं । हामीले विकास सपनामा मात्र देख्ने होइन, भोगेर हेर्नु छ । त्यसका लागि बाम एकता आवश्यता हो । अहिलेको माटोको माग हो । जनताको चाहना हो । त्यो चाहना प्रतिविम्वित भएको छ । अब सूर्यमा माओवादीले भोट राख्ने र गोलाकारभित्रको हँसिया हथौडामा एमालेले भोट राख्ने कुरा आश्चार्यको विषय होइन । हामीले यी दुवै चिन्हलाई आफ्नै पार्टीको आत्मसात गरिसकेका छौं । हामी मिलेनौं भने जनताले हामीलाई छाड्नेवाला छैनन् । जनताका लागि, विकास र समृद्धिका लागि यो गठबन्धन हो, एकता हो । यो कसैगरी, टुट्ने छैन, भाँडिने छैन । जनताहरु ढुक्क भएर बाम गठबन्धनलाई जिताउन लाग्नुस्, तपाईकै पालामा समृद्धि सम्भव छ, विकास सम्भव छ । हामी हजुहरुको आशा र भरोसा पूरा गराउन बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुहुन अनुरोध गर्दछु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!