यो देश बचाउँने शक्ति राष्ट्रवादी मात्र हो: केशवराज श्रेष्ठ

Posted on: 04 Nov, 2017

 नजिकिदै गरेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनले देशम राजनीति माहोल तताएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि दलले आ–आफना उम्मेदवार खडा गरि आवश्यक प्रचारप्रसार कार्यमा तीव्रता दिईसकेको अवस्था छ भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौट गर्न सम्पूर्ण राजनीतिक दल अभ्यस्त रहेका छन् । उम्मेदवारका लागि सिफारिस भएका नेताहरु टिकटको लागि पार्टी कार्यालय र शीर्ष नेताको घरदैलोमा पुग्न र आवश्यक भनसुनमा व्यवस्त छन् । यहि निर्वाचनको पेरीफेरो र राष्ट्रिय राजनीतिक अवस्थाको बारेमा एकिकृतराष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कोषाध्यक्ष केशवराज श्रेष्ठसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी: 

अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी नियाली रहनु भएको छ ? 

अहिलेको राजनीति घटनाक्रम जुन तरिकाले बढिहरहेको छ, यसले कतै सक्रमणकाललाई थप लम्ब्याउँने त हैन् भनेर शंका उब्जिरहेको छ । नेपालमा अहिले जुन तरीकाले बाम गठबन्धन भएको छ, यस्तो विश्व ईतिहासमा कतै पनि भएको छैन् । सत्तामा बस्ने र विपक्षसँग गठबन्धन गरी राष्ट्रिय हित विपरितको कार्य गर्ने चरित्र देखा परेको छ । यस्तो खालको चरित्रले अवश्य पनि  राष्ट्रलाई सकरात्मक दिशामा डो¥याउँदैन् । हाम्रो पार्टी एकिकृत्त राप्रपा राष्ट्रवादीले यहि कुरालाई मध्यनजर गर्दै दुवैतर्फको (वाम र लोकतान्त्रिक गठबन्धन) सँग एकता नगरि राष्ट्रवादी शक्ति चाहिन्छ भनेर राष्ट्रको हितको लागि अडिगका साथ रहेको छ । 

प्रतिनिधी सभा र प्रदेशको निर्वाचन नजिकिदैछ, पहिलो चरणको निर्वाचनको लागि नोमिनेशन समेत भईसकेको छ, गठबन्धन प्रक्रियाले चुनावी नजितामा कस्तो खालको प्रभाव पार्ने आंकलन गर्नु भएको छ ?

वामपन्थी र प्रजातान्त्रिक गठबन्धनको नाममा अहिलेको राष्ट्रिय राजनीति जुन तरीकाले धुव्रिकरण भएको छ, यो अराजक तरीकाले भएको छ । उदाहरणका लागि नयाँ शक्ति नेपालका संयोजक डा.बावुराम भट्टराई पहिला बाम गठबन्धनमा जानुभयो र पछि लोकतान्त्रिक गठबन्धनमा सामेल हुनुभयो । यहि उदाहरणलाई लिने हो भने केहि दिनको लागि मात्र गरिएको हो भन्ने कुरा प्रष्ट्र हुन्छ । अर्को अर्थमा भन्नुपर्दा यो गठबन्धन प्रक्रिया चुनावसम्मको लागि मात्र हो । यो मूल्य, मान्यता र सिद्धान्तमा आधारित राजनीति भन्दा पनि आफनो पद र हैसियत बचाउँने र आफनो स्र्वाथपूर्तीका लागि ठूला दलले जे पनि गर्न तयार हुने खालको राजनीति प्रक्रिया अंगालीरहेका छन् भन्दा अतियूक्ति नहोला । यसरी नेपाली जनतालाई कहिलेसम्म गुम्राहमा राख्ने ? राजनीतिक संक्रमणकालले देशको आर्थिक उन्नती दयनीय अवस्थामा पुगेको छ ।


लाखौ युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहेको छ, देशमा शैक्षिक वेरोजगारहरुको संख्या पनि अतयधिक रुपमा वृद्धि भएको छ । त्यसकारण अबको यो नजिकिदै गरेको निर्वाचन पछि देशमा आर्थिक उन्नतीले तीव्रता लिनुपर्छ भन्ने हाम्रो अवधारणा हो ।  देशमा दीर्घकालीन आर्थिक उन्नती र सम्वृद्धिका लागि नेपाली जनताले हाम्रो पार्टी एकिकृत राप्रपा राष्ट्रवादीलाई सहयोग गर्नुपर्छ । यो देश विस्तारै अतिवादमा जादैँछ । देशलाई अतिवादबाट बचाउँनको लागि राष्ट्रवादीहरु एक हुनु बाहेकको विकल्प छैन् भन्ने मान्यतालाई आत्मासाथ गर्दै आगामी निर्वाचनमा नेपाली जनताले हामीलाई सहयोग गर्ने कुरामा विश्वस्त छौ । 

त्यसो भए अहिलेको गठबन्धन प्रक्रिया काले काले मिलेर खाउँ भन्न खोज्नु भएको हो ?

पक्कै पनि । नेपालमा सेटिङको राजनीति भईरहेको छ । यहाँ त सिद्धान्तलाई कुनै पनि मान्यता दिएको पाईदैन् । राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति हो । त्यही नीति गलत भयो भने देशको हरेक पक्ष गलत र नकरात्मक दिशातर्फ मोडिन्छ । यहाँ भागभण्डाको राजनीति छ, किनभने एमालेले सरकार चलाउँदा माओवादी पनि सरकारमै थियो र अहिले कांग्रेसको सरकारमा पनि माओवादीको सहभागीता छ । यसैले जनताको आखाँमा छारो हाल्दै आपसमा सेटिङका साथ मिलेर देशलाई कंगाल बनाउँने काम भइरहेको छ । निर्वाचन नजिकीदै छ । निर्वाचन आयोगले आचारसंहिता लागू भयो भन्दाभन्दै पनि शेरबहादुर देउवाले पटकपटक मन्त्री मण्डल विस्तार गर्दै आएका छन् । माओवादीका मन्त्रीहरु विना विभागीय अवस्थामै मन्त्रालयमा बस्दै आएका छन् । यो नियम संसारको कुन देशमा लागू छ ? विश्व ईतिहासमा नभएको राजनीति प्रक्रिया नेपालमा हुदैँ आएको छ । 

राष्ट्रवादीले मात्र देश बचाउँन सक्छन् भन्नुभयो, के छन् राष्ट्रवादीहरुमा फरक खालको त्यस्तो क्षमता ?

राष्ट्रवादीहरु राष्ट्रको लागि मर्न तयार हुन्छन् तर आत्मासम्पर्ण गर्दैनन् । राष्ट्रवादी देश छोडेर भाग्ने खालको हुदैँन् । जनताको हितलाई शिरोपर गर्दै देशको श्रोत, साधनलाई बचाउँने अभियानमा कटिवद्ध हुन्छन् । राष्ट्रिय सम्पतिलाई संरक्षण गर्दै थप श्रोत बढाउँने कार्यमा तल्लीन हुन्छन् । संक्रमणकालमा पनि देशलाई माया गर्ने र बफादार तरिकाले राष्ट्रिय हितको लागि अहोरात्र खट्ने भावना भएको व्यक्तिहरुले स्थापना गरेको पार्टी नै एकिकृत्त राप्रपा राष्ट्रवादी पार्टी हो । हामीले राष्ट्रियताको विषयलाई मान्यता दिएका छौ । राष्ट्र एउँटा भूगोल हो भने राष्ट्रियता त्यो भूगोल भित्रको सम्पूर्ण कुरा भाषा, धर्म, सस्कृति, रितीरीवाज, मूल्य मान्यता लगायतका यावत पक्षहरुसँग जोडिएको हुन्छ ।  यीनै राष्ट्रसँग जोडिएका समग्र पक्षलाई पहिचानका साथ आवश्यक संरक्षण गर्दै राष्ट्रलाई दीगो विकास, सम्वृद्धिका साथ सकरात्मक रुपान्तरमा लिने काम राष्ट्रवादीले मात्रै गर्न सक्छ । 

राप्रपा एउटाबाट तीनवटा टुक्रामा विभाजित भएको छ, के भागभण्डा नमिलेर हो ? यसरी छिन्नभिन्न हुनुको कारण चाहि के हो ? 

तपाईले महत्वपूर्ण कुराको उठान गर्नुभयो । राप्रपामा पद बिना बस्नै नसक्ने जो यस्ता चरित्रका केहि पात्र छन् । पदविना बस्नै नसक्ने चरित्र भएका तीनै पात्रले पार्टीमा आफनो हावी विस्तार गर्दै गए । पार्टीमा नीति भन्दा पनि नेतृत्वलाई प्रमुख मान्ने प्रवृत्तीले गर्दा आज राप्रपा तीन वटा भागमा विभाजन हुन पुगेको हो । अर्को कुरा देशी विदेशीहरुले चलखेल गर्न पुगे र त्यो कुरा हाम्रा साथीहरुले बुझन सकेनन् । पार्टी सञ्चालनको लागि नीति प्रमुख हुन्छ । त्यही नीतिलाई नेतृत्वकर्ताले अंगाल्ने हो र पार्टीलाई अगाडी बढाउँने हो । 

तपाईको पार्टीको मुल ऐजेण्डा चाहि के हो ?

देश, राष्ट्रियताको पक्षधर हुनुपर्छ, हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था कायम हुनुपर्छ । देशलाई धर्मनिरपेक्षता घोषणा गर्दा धर्मको नाममा विभिन्न विदेशीहरुले चलखेल गर्ने मौका पाईरहेका छन् । देशमा अहिलेसम्म राजनीति संक्रमण कायमै छ । यसको मुल कारण राजतन्त्र नभएकोले हो । नेपालमा हिन्दू धर्मको जिवित देवी कुमारीलाई पूज्ने परम्परा हाल सम्म कायम रहेको छ । यसैले देशलाई हिन्दू राष्ट्र र  संवैधानिक राजसंस्था कायम गरिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो । 

तपाई काठमाडौंको काँठ क्षेत्रमा बसोबास गर्दै आउँनु भएको छ, काँठ क्षेत्रको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

काठमाडौंको काँठ क्षेत्र त्यसमा पनि क्षेत्र नं ६ को राजनीतिक बारेमा कुरा गर्नुपर्दा मुख्य गरी २ वटा क्षेत्रमा विभाजित छ । क्षेत्र नं ६ मा महानगरको केहि भाग, टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको केहि भूभाग समेटिएको छ । महानगर क्षेत्रको जनताको सोचाई र काँठ क्षेत्रका जनताको सोचाईमा केहि फरक छ । यहाँको प्रतिनिधी सभाको निर्वाचनमा कहिल्यै पनि काँठ क्षेत्रको उम्मेदवार हुन सकेको छैन् । जहिले पनि महानगर क्षेत्रकै उम्मेदवारलाई काँठ क्षेत्रका जनताले भोट हाल्नु पर्ने वाध्यता रहेको छ । काँठ क्षेत्र राजधानी भित्रमै भएपनि विकासले तीव्रता पाउँन सकेको छैन् । काँठ क्षेत्रको विकास नहुनुको कारण संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधी काँठको नहुनुले हो । प्रतिनिधी जहिले पनि महानगर क्षेत्र हुने र उ निर्वाचनको समयमा मात्र यो क्षेत्रमा आउँने भएकोले यहाँका जनताको पिरमर्का बुझ्ने कुरै भएन् । 

अन्त्यमा केहि भन्नु छ ?

नजिकिदै गरेको निर्वाचनमा म काठमाडौं जिल्ला क्षेत्र नं ६ मा एकिकृत्त राप्रपा राष्ट्रवादी पार्टीबाट समानुपातिक तर्फ उम्मेदवारका रुपमा खडा भएको छु । सम्पूर्ण नेपाली जनतालाई हाम्रो पार्टीको चार कुनाभित्रको हलो चुनाव चिन्हमा मतदान गरि सहयोग गरिदिन हुन अनुरोध समेत गर्दछु । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!