कृषि पढेका दक्ष जनशक्तिलाई यही रोक्नु पर्छ

Posted on: 26 Apr, 2017
basudev Regmi interview
वासुदेव रेग्मी
प्रमुख

जिल्ला कृषि विकास कार्यालय, पर्वत


० अहिले पर्वत जिल्लाको कृषि उत्पादनको अवस्था कस्तो छ ?
पर्वत जिल्लाको कृषि उत्पादन हेर्ने हो भने यो वर्ष खास गरी मुख्य खाद्यान्न वालीको रुपमा  धान उत्पादन बृद्धि भएको छ । करिब १० प्रतिशत हिसाबले  सुन्तलाको उत्पादन बढेको  छ भने अरु सामान्य वालीहरुको पनि वृद्धि भएको अबस्था छ । पछिल्लो समयमा मौसम परिवर्तन भएको कारणले गर्दा समग्रमा बालीनालीको अवस्था राम्रो भएको छ ।
० पर्वत जिल्लामा उत्पादन हुने मुख्य वालीहरु के के रहेका छन् ?
मुख्य रुपमा पर्वत जिल्लामा सुन्तला, तरकारी आलु, लप्सी, कफी लगायत खाद्यान्न वालीहरु प्रायजसो भैरहन्छ । प्राथमिकतामा परेका यी ५ वटा वाली मुख्य, पर्वत जिल्लाको निर्यात योग्य वालीहरु हुन् ।
०  अहिले यी बालीहरुको उत्पादनको अवस्था के छ ?
यो वर्षको तथ्यांक हेर्ने हो भने सुन्तला उत्पादन ३ हजार ४ सय ५६ मेट्रिक टन छ । भने तरकारीमा ९ हजार मेट्रिक टन र २४ मेट्रिक टन कफिको चेरी उत्पादन भएको छ । आलु चाहि २२ हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै लप्सी १ हजार ४ सय मेट्रिक टनको हारहारीमा यो बर्ष उत्पादन भएको छ ।
० पर्वत जिल्लामा सुन्तलाको पकेट क्षेत्रमा पनि होला नि त ?
खास गरी पर्वत जिल्लाको मोदी गाउँपालिका र महाशिला गाउँपालिका, पैयौ गाउपालिका पकेट क्षेत्र नै हो । जिल्लाको साविक गा.वि.स पाचथर, माभफार, देउपुर कुर्धा गा.वि.स चाहि सुन्तलाका लागि निकै प्रख्यात गा.वि.स हुन् ।
० यस जिल्लामा कृषिमा संलग्न किसानहरुको संख्या कस्तो छ ?
जिल्लाको कूल जनसंख्या मध्ये कृषिमा संलग्न जनसंख्या ५१ प्रतिशतको हाराहारीमा नै छ । परम्परागत रुपमा लागेका र निर्वाहमुखी खेती गर्ने किसानहरुको तथ्यांक हो यो । तर व्यवसायिक रुपमा कृषिमा लागेकाहरुको संख्या जिल्ला भरीमा करीव ४ सयको हाराहारीमा मात्र छन् ।
० किसानहरुलाई प्रोत्साहन गर्न नयाँ कस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् त ?
जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि चालु आर्थिक वर्षमा विभिन्न खाले कार्यक्रमहरु सञ्चालनमा ल्याएका छौं । जस्तै, सिचाई, प्लाष्टिक घरहरु,  र मौरी घारहरु अनुदानमा दिने कार्यक्रम गरिरहेका छौं । किसानहरुले सामूहिक रुपमा उहाहरुलाई आवश्यक कार्यक्रमहरु माग गरेको अवस्थामा त्यस्ता कृषि उत्पादकत्व बृद्धि गर्नका लागि विशेष प्राथामिकतामा राखेर अनुदानमा कै बढि व्यवस्था गरेको छौ । त्यस्तै किसानहरुलाई सुरक्षित गर्नका लागि बीमाको प्रचार गर्ने काम गपनि हामीले गरिरहेका छौं । जुन सुकै किसिमको कृषि प्राविधिक सहयोग किसानहरुलाई उपलव्ध गराएका छौ । जसले गर्दा किसानहरु पनि आकर्षित भईरहनु भएको छ । अलिकति सम्भावना पनि भएको हुनाले कृषि पेशा पछिल्लो समयमा व्यवसायिक रुपमा कृषि गर्नेहरुको लहर पनि बढदै गएको छ । व्यवसायिक रुपमा नै कृषि कर्म गरिरहेका किसानहरुलाई कृषि यान्त्रिकीकरणमा जोड दिंदै पावर टिलरहरु पनि विक्री वितरण गर्दै आईरहेको छौं ।
० कृषिमा यान्त्रीकरण चुनौतीको विषय रहेको छ भन्छन् नि त?
कृषिमा यान्त्रीकरण गर्ने कुरा पर्वतमा त्यस्तो चुनौती देखिएको छैन । पछिल्लो समयमा युवाहरु विदेश पलायन भएका कारणले पनि खेतबारी जोत्नका लागि हलिहरु नपाईरहेको अवस्थाले गर्दा पनि पावर टिरको प्रयोग बढ्दै गईरहेको छ । किसानहरु पछिल्लो समयमा कृषि यन्त्रको प्रयोग बढाउन थालेका छन् । किसानहरुको कृषि यन्त्रको मागहरु हेर्ने हो भने पत्याउन नै गाह्रो देखिन्छ ।
० त्यसो भए कृषिमा यान्त्रिकरण बढाउनका लागि के योजना बनाउनु भएको छ त ?


अहिले हजारौं युवाहरु बिदेशिएको अवस्था छ । युवा अवस्था हुदा विदेशमा जाने र पछि काम गर्ने नसक्ने अवस्था भएपछि आखिर बाकी जीवन विताउने नेपालमा नै हो । पछि पैसा भएर मात्र पुग्दैन होला । देश विकास नभएको पनि यही भएकाले हो । विदेश गएर सिकेको सिप नेपालमा आएर व्यबहारमा प्रयोग ग¥यो भने मात्र केहि होला खाली पैसाले मात्र काम गर्दैन । हामीले हाम्रो उत्पादन बढाउन सक्नु पर्छ । एउटैले सम्भव छैन भने सामुहिक रुपमा पनि मिलेर काम गर्नु पर्दछ । त्यसका लागि हामीले कम जनशक्ति प्रयोग हुने भएकाले  पनि यान्त्रिकरणमा  जोड दिएका छौं । त्यसलाई राज्यले पनि ऋण्माा सहुलियत दिने र  वीमामा सहज गर्ने काम गरिरहेका छौं । त्यसले गर्दा पनि युवा साथीहरु विस्तारै विस्तारै आकर्षित हुदै आउनु भएको छ । यहाँ समस्या के भयो कृषि पढेको भन्दा नपढेको साथीहरु कृषिमा आकर्षित हुनुहुन्छ । कृषि पढेका साथीहरु चाही झन् पलायन  भइरहेको अवस्था छ । कृषि पढेका दक्ष जनशक्तिलाई यही रोक्नु पर्छ । त्यसको लागि अव सरकारबाट बिशेष योग्यतालाई ध्यान दिएर बिना धितो, परियोजना धितो राखेर पनि ऋण सहयोग गर्ने हो भने आकर्षित हुन्छ । हैन भने विदेश जाने क्रम रोकिने वाला छैन ।
० तर तपाईले भने जस्तै योग्य जनशक्ति रोक्ने काम सरकारले गर्न चाहँदैन त ?
त्यो जसरी भएपनि रोक्नु पर्दछ । कृषि आत्मनिर्भर बन्ने भनेर सरकारले भनिरहेको अवस्थामा कृषिका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने काम राज्यको हो । यसको मतलव विदेश जान नै रोक्ने भन्ने कुरा होइन । मुलुकको कृषि उत्पादकत्व बढाउनका लागि सवै युवा पुस्ता नेपालमा नै रहनु पर्दछ भन्ने पनि होइन । अहिले ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्ने हो भने पनि धेरै नै सहज हुन्छ । त्यसका लागि कृषि उत्पादकत्व बृद्धि गर्नका लागि आवश्यक पूर्वाधारहरुको विकास गर्नु पर्दछ । सिंचाई सुविधा, सहज रुपमा ऋणको व्यवस्था,बीमाको व्यवस्थामा, कृषि प्राविधिकहरुको प्रशिक्षण एवं व्यवसायिक किसानहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्नु पर्दछ । त्यो सवै एकैचोटी सम्भव पनि छैन विस्तारै गर्दै जाने कुरा हो राज्यले चाहने हो भने गर्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!