मेची पर्यटन महोत्सव शुरु

Posted on: 20 Dec, 2018

 पुस ५, इलाम (रासस) |  पचास हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाम सदरमुकाममा १० दिने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आजदेखि शुरू भएको छ । इलाममा आयोजना भएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो पर्यटन महोत्सवका रूपमा लागेको उक्त महोत्सवमा साहित्यिक तथा सांस्कृतिक विषयवस्तुको प्रदर्शन गरिएको छ भने जातीय खानाका परिकारसमेत प्रस्तुत गरिएको छ । 

महोत्सवको शुरुमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राह्मण जातिका जातीय वेशभूषा र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीमा चार जिल्लाका पर्यटकीय स्थलको समेत प्रदर्शन गरिएको थियो । 

साबिक मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने योजनाले शुरु भएको यो महोत्सव आजदेखि शुरु भएर १६ गतेसम्म चल्नेछ । चार जिल्लामा बसोबास गर्ने जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने आयोजकको भनाइ छ । 

पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा भएको महोत्सवमा ५० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सतार नाच, इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याएको आयोजक समितिका महासचिव देवी पौड्यालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!