सरसफाइ परिचयपत्र वितरण

Posted on: 19 Sep, 2020

असोज ३, इलाम | इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो । 

अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । गाउँपालिकालाई सँधै सफा राख्न स्थानीयलाई सचेत गराउने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो । नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईले बताउनुभयो । कोरोनाको समेत सङ्क्रमण बढिरहेकाले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम फलदायी हुने बताइएको छ । 

परिचयपत्र वितरणपछि प्रत्येक घरबाट मासिक सय रुपैया उठाउने र उक्त रकम सरसफाइमा खर्च गरिने बताइएको छ । शुल्क बापत बजारको फोहोर मैला सङ्कलन गरी डम्पीङ साइट लगिनेछ । उक्त अभियान सबै वडाका बजार, टोल हुँदै घरघरमा लागू हुनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!