झापा : दुवै मिर्गौला खराब भएका दुई महिलाको उपचारमा आर्थिक अभाव

Posted on: 15 Sep, 2020

भदौ ३०, झापा (रासस) : मेचीनगर नगरपालिकाका आर्थिकरूपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ ।

मेचीनगर–१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर–९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उहाँहरुको हप्तामा दुईपटक डायलासिस गरिँदै आएको छ ।

धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताउनुभयो । दुवै मिर्गौला खराब भएकी निर्मला ढुङ्गानालाई चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफू तयार रहेको आमा लक्ष्मीमाया ढुङ्गानाले बताउनुभयो ।

विवाह गरेको तीन महिनापछि निर्मलालाई मिर्गौलामा खराबी देखापरेको थियो । उहाँको उपचारमा रु २० लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ ।

मिर्गौला खराब भएपछि डायलासिस र औषधि निकै महङ्गो पर्ने र नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मलाजस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनालले बताउनुभयो । मिर्गौला खराबी भएर थलिएका अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!