पहिरोबाट इलामको सन्दकपुरका १२ परिवार विस्थापित

Posted on: 28 Jul, 2019

साउन १२, इलाम  | लगातारको वर्षापछि इलामको सन्दकपुर गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर–५ को गहिरगाउँका घरभित्र चिरा परेपछि १२ घर विस्थापित भएका हुन् ।

 सिङ्गो गाउँ नै पहिरोले तानेको र स्थानीयवासीका घरभित्र चिरा परी पानी उम्रिएपछि विस्थापित भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । पहिरोबाट सन्दकपुर–५ का पूर्णबहादुर गुरुङ, जीतकुमारी गुरुङ, लाखमान तामाङ, माया गुरुङ, रमेश गुरुङ, सूर्यबहादुर गुरुङ, नीरबहादुर गुरुङ, रामबहादुर गुरुङ, धर्मध्वज गुरुङ, नेत्रबहादुर गुरुङ, यामबहादुर गुरुङ र बेदबहादुर कार्कीको घरभित्र चिरा परेकाले शनिबार राहत रकम र सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित विभिन्न संस्थाले पीडितलाई नगदसहित बन्दोबस्तीका सामग्री शनिबार हस्तान्तरण गरेका छन् । विस्थापित १२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही पाँच हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै रेडक्रसले त्रिपाल, कपडा, भाडावर्तन, बाल्टी र डोरी वितरण गरेको छ । जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तिमल्सिना, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हीरा पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्का र रेडक्रसका प्रतिनिधिलगायतको उपस्थितिमा विस्थापितको अवस्था र पहिरो क्षेत्रको अनुगमन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!