लिम्बूवान मोर्चाका सचिवसहित नौजना प्रहरी नियन्त्रणमा

Posted on: 24 Oct, 2019

कात्तिक ७, इलाम | जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।

आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा  जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज  नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा ( धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष कविरमाया सावा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ  लिम्बु र हर्कप्रसाद नेम्वाङ रहेका छन् । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी  हीराबहादुर पाण्डेले शान्ति सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयलगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!