चिया पिलाउँदै, स्वाद चिनाउँदै

Posted on: 14 Feb, 2021

फागुन २, इलाम । उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् ।  

उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको जवाफअनुसार चिया बनाइन्छ । कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन् । आफ्नो क्षेत्रमा आउने पाहुनालाई गर्ने सत्कार हो यो । अनि चियाको प्रवद्र्धन । यसरी थरिथरीका चिया पिलाउने व्यक्ति हुनुहुन्छ इलाम देउमाई नगरपालिकास्थित पानीटारका राजु कटुवाल । कटुवाल पानीटार नजिकैको ब्रदर्श अर्थोडक्स टी प्रोडर्सस प्रालिका सञ्चालक हुनुहुन्छ । 

पानीटार आसपासका किसानको चिया ल्याउने फ्याक्ट्री हो, ब्रदर्श अर्थोडक्स । नाम जस्तै मान्छे पनि । दाजुभाइ झैँ सबैलाई सत्कार गर्ने उहाँको बानी । यसैले एकादुई दिनमा उहाँका पाहुना आइरहन्छन् । यी सबैलाई आफ्नै हातले बनाएको चिया पिलाएर उहाँ पठाउनुहुन्छ । यहाँ व्यापारसँगै सत्कार र संस्कृति तथा संस्कार झल्किन्छ । राजु सञ्चालक बनेदेखि यो उद्योग निरन्तर चलिरहेकै छ । उहाँको यही व्यवहारले नेपाल मात्र होइन, भारतहुँदै तेस्रो मुलुकसम्म चियाको व्यापार पुगेको छ ।

यहाँ अर्थोडक्स चियाबाट बन्ने विभिन्न प्रकारका चिया बन्छन् । पाहुनाको माया र उद्योगको कमाइले चलेको छ, उहाँको जिन्दगी । राजुको मात्र होइन, सँगसँगै १३ जना उद्योगीको जीवन । अनि सँगसँगै चलेको छ उहाँको चिया ल्याउने किसानको । यो उद्योग तीन वर्षअघि नै अर्गानिक सर्टिफिकेट हो । यसैले चिया प्रचारका लागि धेरै बोल्नु पर्दैन । पहाडको अर्थोडक्स, त्यसमा पनि अर्गानिक । फेरि चियाको अनेकन ‘भेराइटिज’ । स्वादकै लागि चिया किन्नेको जत्था कम छैन उद्योगमा । उद्योगको सबै थोक राजुकै काँधमा छ ।

कसैले उद्योगको तपार्इं के हो भनेर सोधे, राजु ठट्यौलीमा भन्नुहुन्छ,“खोइ आफैलाई थाहा छैन, सबै थोक आफै गर्नुपर्छ ।” उद्योगको सबैथोक आफै गर्नुपर्नाले राजुलाई व्यवस्थापक भने नि हुन्छ । विसं २०६८ तिर राजु त्यही उद्योगको हरियो चियापत्ती सङ्कलक हुनुहुन्थ्यो । यसपछि एक्कासि उद्योगी बन्नुपर्ने भयो । अनेक समस्या र अभावकाबीच राजु सञ्चालक बन्नुभयो । 

राजुकै हातबाट बन्ने ११ ‘भेराइटिज’

उहाँकै हातबाट ११ किसिमको ‘भेराइटिज’का ‘ग्रीन टी’, ‘नर्मल ग्रीन टी’, ‘रोस्टेड ग्रीन’,‘नर्मल ग्रीन’, ‘पल ग्रीन’,‘गोल्डेन पल’,‘ह्वाइट पल’,‘गोल्डेन टी’,‘ह्वाइट टी’,‘ह्वाइट हिँडन’,‘गोल्डेन निडल’,‘ब्लाक टी’ र ओलाङ टी बन्छन् ।

 ‘टी टुरिज्जम’मा पनि

अरू चियामा भन्दा बेग्लै स्वाद हुन्छ, अर्थोडक्समा । अनि झन् बेग्लै पहिचान र स्वाद हुन्छ, अर्गानिक अर्थोडक्समा । त्यसमा पनि पानीटारको अर्थोडक्समा भिन्नै स्वाद भेटिन्छ । हावापानी र भौगोलिकता नै भिन्न भएकाले चियामा विशेष स्वाद हुन्छ । यो चिनाउन राजु अहिले ‘टी टुरिज्जम’मा लाग्नुभएको छ । 

पानीटारकै एउटा कुनै ठाउँमा बस्ने, चियाकै पुस्तक पाहुनालाई देखाउने, चिया चखाउने र अनि चिया चिनाउने योजना बोकेर उहाँ हिँड्दै हुनुहुन्छ । चियाले आफ्नै ठाउँमा बजार लिनुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्छ । 

केही दिनअघि मात्र सरकारले देशभरका १०० पर्यटकीय क्षेत्र छनोटमा पानीटार राखेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावरसहित पार्क निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । सो आयोजनाका लागि रु एक करोड ४४ लाखको लागत अनुमान गरिएको छ । सोका लागि मन्त्रालयको लागत रु ९४ लाख र साझेदार लागत रु ५० लाख रहेको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!