हुम्लामा पहिलोपटक कैदीका लागि पुस्तक हस्तारन्तरण

Posted on: 18 Jan, 2019

दाने बोहरा | माघ ४, हुम्ला | कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । 

मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान शुरु गरेपछि हुम्ला कारागारमा पहिलो पटक पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो । 

क्याम्पस प्रमुख रोकायाले कारागारमा पुस्तकालयको सुविधा हुँदा पुस्तक पढेर कैदीले आफ्नो जीवन र सोच बदल्न सक्ने भएकाले पुस्तक हस्तान्तरण गरेको बताउनुभयो । “पुस्तक सानो हो तर यसले संसार चिनाउँछ, पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो, पुस्तकले सकारात्मक सोचका साथ राम्रो छाप छोड्नसक्छ”, रोकायाले भन्नुभयो । 

हस्तान्तरण गरिएका पुस्तकहरू जीवनी, साहित्यिक, कथा, दर्शन, विचारसँग सम्बन्धित छन् । रोकायाले आफूले नै लेखेका १४ पुस्तक पनि हस्तान्तरण गर्नुभएको छ । आफूले लेखेका कथासङ्ग्रह, उपन्यास, नाटक, कविता, जीवनी पुस्तक हस्तान्तरण गरिएको छ । 

कारागारमा पुस्तकालय अभियान उपसमिति गठन भएको एक हप्ता नपुग्दै पुस्तक प्राप्त भएको छ । प्राप्त पुस्तक पढ्ने कैदीले यस्तो सहयोगलाई कहिल्यै बिर्सन नसक्ने भन्दै कार्यालयका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले यस्तो सहयोगलाई आफूले सकारात्मकरूपमा लिएको बताउनुभयो । 

कैदीबन्दीलाई एउटा पुस्तक पढेर सकिएपछि अर्को पुस्तक पढ्न दिइने प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । आउँदा दिनमा अन्य व्यक्तिबाट पनि ज्ञानवद्र्धक पुस्तक प्राप्त हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो । 

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता 

जिल्लाको खार्पुनाथ गाउँपालिका–५ ले स्थानीयलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जनतालाई गाउँ घरमा सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले सेवाग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

निर्धारित समयभन्दा ढिलो भए पनि सामाजिक सुरक्षा भत्ता पाउने सबै सेवाग्रहीलाई घरमै पुगेर हातहातमा वितरण गरिएको गाउँपालिकाका नायव सुब्बा कृष्ण रोकायाले बताउनुभयो । वडा नं ५ का ५५१ सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वापतको चौमासिक भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

वडाध्यक्ष भीमराज शाहीले आफैँ घरघरमा पुगेर भत्ता वितरण गर्नुभएको हो । सत्तरी वर्षभन्दा माथिका ८०, २६४ बालबालिका र ६० वर्षमाथिका २०७ सेवाग्राहीलाई भत्ता वितरण गर्न रु १८ लाख ५० हजार बजेट खर्च भएको रोकायाले जानकारी दिनुभयो । 

सामाजिक सुरक्षा भत्तावापत हाल ज्येष्ठ नागरिकले मासिक चार हजार, ६० वर्षमाथिका नागरिकलाई मासिक रु दुई हजार र पाँच वर्षमुनिका बालबालिकालाई बाल अनुदान मासिक ४०० रकम वितरण गरिएको छ । 

खानेपानी पुग्दा गाउँमा पूजाआजा 

हुम्लाको सर्केगाड गाउँपालिका–४ खानेपानीको योजना निर्माण भई धाराबाट पानी खसेपछि स्थानीयले धारामा पूजाआजा गरेका छन् । 

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका वडा नं ४ को मुण्डी गाउँका स्थानीय बासिन्दाले खानेपानीको समस्या समाधान भएपछि खुशियाली मनाएका हुन् । 

गाउँमा यसअघि खानेपानीको स्थायी समाधान नहुँदा मुण्डीवासीले समस्या भोग्दै आएका थिए । अहिले स्थायीरूपमा समाधान भएको स्थानीय जसबहादुर थापाले बताउनुभयो । वडा नं ४ मुण्डी गाउँमा नौ वटा धारा जडान भएपछि सबैलाई खानेपानीको सहज आपूर्ति भएको छ । 

यसअघि अधुरा र पानीको स्रोत कम भएका योजना निर्माण भएकाले स्थानीय बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका थिए । “अब समस्याको स्थायी समाधान भएको छ तर स्थानीयले यसको हेरविचार गर्नुका साथै मर्मत संभारमा ध्यान दिनुपर्नेछ”, उहाँले भन्नुभयो । 

खानेपानीबाट ५४ घरधुरीका ३११ जना प्रत्यक्ष लाभाविन्त भएको खानेपानी योजनाका लागि आर्थिक सहयोग गर्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताउनुभयो । 

गत चैत महीनामा स्थानीय उभोक्ता समिति गठन गरेर वैशाख महीनादेखि निर्माण कार्य शुरु भई निधारित समयभन्दा अगाडि नै सम्पन्न भएको सल्लाहकार थापाले बताउनुभयो । 

तीन किलोमिटर टाढाको पताले मूलबाट पाइपलाइनबाट पानी ल्याएर मुण्डी गाउँमा नौ र विद्यालयमा एक गरी दश वटा बालमैत्री धारा निर्माण गरिएको छ । कूल रु ४४ लाख ७७ हजार २०१ लागतको सो योजनामा २५ प्रतिशत स्थानीयको जनश्रमदान र बाँकी सबै आयोजनाले बेहोरेको उहाँले जानकारी दिनुभयो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!