हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण

Posted on: 25 Nov, 2018

मङ्सिर ९, हुम्ला (रासस) | हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण गरिएको छ । 

विस्फोटक पदार्थको अभावमा दुई वर्षसम्म रोकिएर शुरु भएको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सिमकोट हिल्सा सडकखण्डको शनिबार प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासहितको टोलीले निरीक्षण गरेको हो । 

चट्टान फुटाउने कार्य तीव्ररूपमा भइरहेको समयमा सडकको ट्र्याक खोल्नका लागि उच्च पदाधिकारीको टोली निरिक्षणमा गएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष अर्जुन बोहराले बताउनुभयो । च्याछरा भीरमा धेरै ठूलो चट्टान भएका कारण समस्या भएका उक्त सडक आयोजना प्रमुख शसाङ्क मिश्रले बताउनुभयो । चट्टान फुटाउने कार्य एक महीना अगडिदेखि शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

उक्त खण्डको १०० मिटरमा करीब ७० देखि ८० मिटर चौडा बनाउने कार्य अगाडि बढिरहेको प्रमुख मिश्रले बताउनुभयो । सडकखण्डको पूरा भाग चट्टान भएका कारण काम गर्न असजिलो भए पनि निर्माणकार्यले गति लिएको बताइएको छ । 

दैनिक १२ जनाको हाराहारीमा कामदारले चट्टान फुटाउन होल खोप्ने कार्य गरिरहेका छन् । कम्तिमा १५० भन्दा बढी होल खोपिसकेपछि नेपाली सेनालाई विस्फोटनका लागि सिमकोटबाट बोलाइने गरिएको छ । सो क्रममा ५०० राउण्ड विस्फोट गरिसकेको प्रमुख मिश्रले जानकारी दिनुभयो । 

चट्टानबाहेक उक्त खण्डमा चार किलोमिटर सडकको मात्र ट्र्याक खोल्न बाँकी रहेकामा बोलपत्रसमेत स्वीकृत भइसकेको छ । विसं २०५५ मा तत्कालीन जिल्ला विकास समितिको आन्तरिक स्रोतमा निर्माणकार्य शुरु गरिएको उक्त सडकको लम्बाइ ९५ किलोमिटर छ । यसमा करीब ९० किलोमिटर हाल गाडी गुड्ने अवस्थाको सडक निर्माण भइसकेको आयोजनाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रानीवन गुल्मका सेनानी निश्चल पाठक, प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, अनुसन्धान प्रमुख लोकमणि आचार्य, हिल्सा–सिमकोट आयोजना प्रमुख मिश्र र नेपाल पत्रकार महासङ्घका अध्यक्ष बोहरालगायतको सहभागिता रहेको थियो । 


माथिको तश्वीरमा: सिमकोट हिल्सा सडक खण्ड अन्तर्गत च्याछरा खण्डको भिर विस्फोटन गर्न स्थलगत निरीक्षण गर्दै मजदुर । तस्वीर: दाने बोहरा, हुम्ला रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!