साँसद छक्कबहादुर अभिनन्दित

Posted on: 18 Nov, 2018

रेशमराज रोकाया | मङ्सिर २, हुम्ला | हुम्लाबाट प्रत्यक्ष निर्वाचन तर्फ स्वतन्त्र तर्फका प्रतिनिधि सभाका साँसद छक्क बहादुर लामालाई सम्मान गरिएको छ । निर्वाचित भएको करिब १ वर्ष पछि गृह जिल्लामा लामो समय विताउनु भएका साँसदलाई लामा समुदायको छाता संगठन लामा साँस्कृतिक मञ्चले नागरिक अभिनन्दन गरेको हो । 

हुम्लाको लामा समुदाय पछि परेको भएता पनि राजनितीमा लामा समुदायको प्रतिनिधित्व गरेको र हुम्लाकै गौरब भएको भन्दै लामा साँस्कृतिक मञ्चले सम्मान गरेको छ । मञ्च सबैको साझा संगठन भएको हुनाले यस समुदायको सुख दुःख बिसाउने चौतारीको रुपमा बढेको कारण आगामी दिनमा अझ लामा समुदायको सहारा बन्न सफल हुने साँसद लामाले बताउनु भयो । यस समुदायको चालचलन, रितिस्थिती र परम्परालाई जोगाउनको लागि पनि मञ्च अगाडी बढ्नु पर्ने साँसद छक्क बहादुर लामाको जोड रहेको छ । आफुलाई नागरिक अभिनन्दन गर्दा खुसी भएको र हुम्ला जिल्लाका सबै समुदायलाई आफुले पुनरउत्थानमा लाग्ने उहाँले जिकिर गर्नु भयो । संस्कृतीको संरक्षणसँगै यसलाई पर्यटनसन्ग जोडेर आगामी दिनमा आयआर्जनसँग जोडेर लैजानु पर्नेमा जोड दिनु भएको थियो ।


कार्यक्रममा सम्बोधन गर्दै सिमकोट गाँपालिकाकाको अध्यक्ष पदम लामाले जातिय एकता गरी सबैले साँस्कृतिक अभियानलाई पनि सँगै लैजानु पर्नेमा जोड दिनु भयो । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जिल्लाका विभिन्न गाउँबाट सिमकोटमा बसोबास गर्ने लामा समुदायको समस्याको उजागर गर्नको लागि काम गरिरहेको प्रति खुसी व्यक्त गर्नु भयो । सामाजिक काम पनि यो मञ्च अगाडी बढेको कारण यसको अझ प्रभावकारिता रहेको बताउनु भयो ।

लामा साँस्कृतिक मञ्चका  अध्यक्ष धर्मानन्द लामाले लामा समुदायको सबै पदाधिकारीले लामा समुदायको विकास निर्माणको लागि आफुहरु स्वयंसेवी रुपमा काम गरिरहेको र सरकारी तवरबाट प्राप्त भएका सबै विकास निर्माणका योजनालाई पारदर्शी रुपमा सम्पन्न गरिरहेको बताउनु भयो । हाल कर्णाली प्रदेश सरकारले ५० लाख रकम विनियोजन गरेको यसलाई सही सदुपयोग गर्न तर्फ आफु अग्रसर हुने लामाले बताउनु भयो ।

कार्यक्रममा सिमिकोट गाउँपालिकाको वडा नं. १ मा आगलागी पिडित रिन्जिन लामालाई लामा समुदायबाट राहत संकलन गरी एकमुष्ठ ७७ हजार ७ सय २५ नगद प्रदान गरिएको थियो ।

माथिको तश्विरमा: साँसद छक्कबहादुर लामालाई अभिनन्दन गरिँदै । फोटो: रेशमराज रोकाया

यस बिषयमा तपाइको प्रतिक्रिया...!