गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

Posted on: 06 Feb, 2021

दिपक श्रेष्ठ | माघ २४, गोरखा | उत्तरी गोरखामा गए रातिदेखि वर्षात्सँगै भारी हिमपात भएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ । सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँलगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिनुभयो । 

उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म हिउँ परेको भन्ने जानकारी आएको छ ।”

हिमपातका कारण उच्च पहाडी भेगका गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको स्थानीयवासीको भनाइ छ । 

कृषक उत्साहित

लामो समयपछि परेको हिमपातका कारण उत्तरी गोरखाका कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए । अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको कृषकको भनाइ छ । कृषका अनुसार जिल्लाभरि नै गए रातिदेखि शुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जाँै, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको छ । 

रोग हट्ने विश्वास

यसपटक वर्षात्सँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ । लामोसमय खडेरी पर्दा धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षात्ले जमीन भिजेर धुलो हटेको स्थानीवासीको भनाइ छ । तीव्र गतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!