गोरखामा भूकम्पपीडितका लागि सामान घुम्तीकोष

Posted on: 30 Jan, 2019

माघ १६, गोरखा | गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ । 

पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु नगरेका भूकम्पपीडितलाई वडा कार्यालयको रोहबरमा सामान उपलब्ध गराएर घर निर्माणको काम शुरु गर्न लगाइएको हो । 

पैसा दिँदा खर्च गर्ने र घर बनाउनै नथाल्ने भएपछि वडा कार्यालय साक्षी बसेर घर बनाउन आवश्यक पर्ने सामग्री झिकाइदिने गरेको वडा नं २ का अध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिनुभयो । “ढुङ्गा, गिट्टी, इँटा बालुवा सिमेन्टलगायत डिपिसीसम्म गर्न आवश्यक पर्ने सबै निर्माण सामग्री हामी जिम्मा बसेर झिकाइदिन्छौँ”, उहाँले भन्नुभयो– “घर बनाउन शुरु गरेसँगै उहाँहरूको दोस्रो किस्ताको रकम आएपछि सामान ल्याएको ठाउँमा बुझाइदिने गरेका छौँ ।” 

गाउँपालिकाका तीन वटा वडामा सामान घुम्तीकोष शुरु भएकोे वडाध्यक्ष गुरुङको भनाइ छ । सरकारले लाभग्राही भूकम्पपीडितलाई घर निर्माणको समयसीमा तोकेको भए पनि केही भूकम्पपीडितले रकम अभावका कारण घर बनाउन शुरु नै गर्न नसक्ने अवस्था भएपछि वडा कार्यालय घुम्तीकोष सञ्चालन गरेको उहाँले बताउनुभयो । 

वडाध्यक्ष गुरुङले घुम्तीकोषबाट अहिलेसम्म गण्डकी गाउँपालिकाको वडा नं १, २ र ६ मा गरी नौ घर निर्माण भइसकेको जानकारी दिनुभयो । “समान घुम्तीसेवा शुरु नगरेको भए उहाँहरूले घर बनाउनु हुन्थेन”, वडाध्यक्ष गुरुङले भन्नुभयो– “कसरी छिटो पुनःनिर्माण सम्पन्न गर्न सकिन्छ भन्ने विचार गर्दा यो उपाय लगाएका हौँ ।” 

घुम्तीसेवा लिएर अहिले १८ घर निर्माणको चरणमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । “यो सेवा लिएका भूकम्पपीडितको घर बनाउँदै गर्दा किस्ता आए उहाँकै किस्ताबाट तिरिदिन्छौँ”, उहाँले भन्नुभयो– “किस्ता ढिलो गरी आए वडा कार्यालयले तिरेर उहाँको किस्ता आएपछि कटाएर लिने गरेका छाँै ।” 

घुम्तीकोष शुरु भएपछि घर बनाउन आँट नगर्ने भूकम्पपीडित पनि घर बनाउन आतुर देखिएको वडाध्यक्ष गुरुङको भनाइ छ । घर निर्माणका लागि तीनवटै वडामा नेपाल आवास निर्माण परियोजनाले निःशुल्क नक्सा बनाइदिने, घर निर्माणको लागत, योजना र सामग्रीको छनोटसमेत गरिदिने गरेको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!