बारपाकमा बन्यो ‘बुद्ध पार्क’

Posted on: 15 Dec, 2020

मङ्सिर ३०, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा रु ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “पार्कभित्र करिब पाँच फिट अग्लो बुद्ध मूर्ति राखिएको छ”, उहाँले भन्नुभयो,“ बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ ।” 

पार्कमा ढुङ्गाको कलात्मक सजावटसाथ प्रयोग गरिएको उहाँले बताउनुभयो । “बुद्धपार्कमा प्राकृतिकस्वरुप झल्किएको छ”, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, “बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भए पनि पार्कले अल्मल्याउने निश्चित छ ।” पार्क बनाउन गाउँपालिकाले ४० लाख र वडा कार्यालयले रु पाँच लाख विनियोजन गरेका थिए । “पार्क बनाउन स्थानीयवासीले श्रमदानसमेत गरेका छन्”, उहाँले भन्नुभयो । रासस 






यस बिषयमा तपाइको प्रतिक्रिया...!