तपाइँ हवाई उडान गर्दै हुनुहुन्छ ? यी २८ कुरामा ध्यान दिए संक्रमणबाट जोगिनुहुनेछ

Posted on: 24 Sep, 2020

सास | विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम हवाई उडानको क्रममा पनि हुन सक्छ । उडानको क्रममा नअपनाईने सावधानीको कारण संक्रमणको उच्च जोखिम हुने हुनाले हवाई उडान भर्ने यात्रुले आफूलाई संक्रमणबाट जोगाउन पुर्वतयारी र यात्राको क्रममा सावधानी अपनाउन पर्दछ । 

हवाई उडान गर्ने यात्रुहरुले तलको २८ सावधानी अपनाउनुहोस, जसबाट आफू र अरुलाई संक्रमणको जोखिमबाट बचाउन सकिन्छ ।  

यात्राको तयारी गर्दाः

1. निम्न लक्षण देखिएका यात्रु विमानस्थल नजानुहोलाः

– ज्वरो आएमा

– खोकी लागेमा

– श्वास प्रश्वासमा कठिनाइ भएमा

– स्वाद र गन्ध थाहा नभएमा

2. बढी जोखिम हुने समूहहरु जस्तै ७० वर्ष माथिका जेष्ठ नागरिकहरु, गर्भवती महिला तथा बिरामी ब्यक्तिहरुले सम्भव भएसम्म हवाई यात्रा नगर्नुहोला ।

3. यथेष्ट मेडिकल फेस मास्क लिएर मात्र यात्रा गर्नुहोला तथा परिचयपत्र, कलम जस्ता आवश्यक व्यक्तिगत सरसामान लिएर जानुहोला ।

4. ब्यागेज सम्बन्धी नियम थाहा पाउनकोलागि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गर्नुहोला ।

5. आफ्नो ब्यागेज सजिलैसँग चिन्न सकिने व्यवस्था मिलाउनुहोला ।

6. विमानस्थलमा बिदाई वा स्वागत गर्ने कार्यलाई निषेध गरिएको छ ।

7. विमानस्थलमा घरपालुवा पशुपंक्षी नलैजानुहोला ।

8. वायुसेवा कम्पनीले तोकेअनुसारको समयभित्रै विमानस्थल पुग्नुहोला ।


विमानस्थलमाः

1. जाँचहरु तथा नयाँ प्रक्रियाहरु पूरा गर्न पर्याप्त समय छुट्याउनुहोला ।

2. विमानस्थलभित्र निरन्तर रुपमा मेडिकल फेस मास्क लगाउनुहोला ।

3. खोकी सम्बन्धी सभ्य आचरणको पालना गर्नुहोला । आफू तथा सँगै यात्रा गर्ने अन्य यात्रुको सुरक्षाकोलागि मेडिकल फेस मास्क लगाउनुहोला ।

4. भाइरस संक्रमणको जोखिम कम गर्न यात्रा अवधिभर मानिसहरुसँग सकेसम्म कम कुराकानीगर्नुहोला ।

प्रस्थान विमानस्थलमाः

1. विमानस्थलभित्र निरन्तर रुपमा मेडिकल फेस मास्क लगाउनुहोला ।

2. चेक इन गर्नु अघि स्वास्थ्य स्वघोषणा फारम भरी सम्बन्धित वायुसेवा कम्पनीलाई बुझाउनुहोला ।

3. उपलब्ध भएसम्म अनलाइन चेक इन (विद्युतीय चेक इन) गर्नुहोला, तथा यात्राकोलागि आवश्यक कागजात लिएर मात्र विमानस्थल जानुहोला ।

4. केही जानकारी आवश्यक भएमा विमानस्थल वा वायुसेवाका कर्मचारीसँग सम्पर्क गर्नुहोला ।

5. प्रयोग गर्न नमिल्ने’ चिन्ह अंकित कुर्सीमा नबस्नुहोला ।

6. विमानस्थलमा राखिएका संकेत तथा चिन्हहरुको पालना गर्नुहोला ।

7. विमानस्थलभित्र तोकिएको भौतिक दूरी कायम राख्नुहोला ।

8. प्रयोग गरिएका मास्क, पञ्जा, टिस्यु जस्ता जोखिमयुक्त सामानहरु विमानस्थलका विभिन्न स्थानमा राखिएका निश्चित फोहरदानीभित्र मात्रै राख्नुहोला ।


बिमानमाः

1. हातको सरसफाई र खोकी सम्बन्धी सभ्य आचरणको पालना गर्नुहोला तथा मेडिकल फेस मास्क निरन्तर लगाई रहनुहोला ।

2. आफ्नो उडानसँग सम्बन्धित विशेष जानकारी वा निर्देशनको बारेमा थाहा पाउनकोलागि क्याबिन सुरक्षा सम्बन्धी प्रस्तुतीकरण हेर्नुहोला ।

3. अत्यावश्यक अवस्थामा बाहेक सकेसम्म शौचालयको प्रयोग नगर्नुहोला । विमानभित्र अनावश्यक हिँडडुल नगर्नुहोला ।

4. यात्रुस्थापन कार्ड Passenger Locator Card भरी वायुसेवा कम्पनीलाई बुझाउनुहोला ।

आगमन विमानस्थलमाः


1. भौतिक दूरी, हातको सरसफाई र खोकी सम्बन्धी सभ्यआचरणको पालना गर्नुहोला तथा मेडिकल फेस मास्क निरन्तर लगाई रहनुहोला ।

2. अत्यावश्यक बाहेकको अवस्थामा ट्रलीको प्रयोग नगर्नुहोला ।

3. आफ्नो ब्यागेज लिएर टर्मिनल भवनबाट अनावश्यक विलम्ब नगरी बाहिर प्रस्थान गर्नुहोला ।

4. माथि उल्लेख गरिएका बाहेक पनि विमानस्थल तथा वायुसेवा कम्पनीका निर्देशनहरुको पालना गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!