यी हुन् कतारबाट नेपाल फर्कनै पर्ने गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले पेश गर्नु पर्ने कागजात

Posted on: 13 Jul, 2020

योगेन्द्र योगी | असार २९, दोहा | कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नियमित हवाई सेवा स्थगित भएको सन्दर्भमा  नेपालमा आफन्तको मृत्यु भई आफैले काज क्रिया गर्न जानु पर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भई उपचारका लागि तुरुन्तै नेपाल जानु पर्ने तथा नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही तुरुन्तै नेपाल जानु पर्ने भएमा निम्न कागजात पेश गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार आफन्तको मृत्यु भइ आफैले काजक्रियाका लागि नेपाल फर्कनुपर्ने भएमा मृत्यु दर्ताको प्रमाणपत्र तथा नाता खुलने कागजातसहित दूतावासले उपलब्ध गराएको ईमेलमा मेल गर्न तथा थप जानकारी चाहिएमा दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर १११ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफै नेपालमा गई थप उपचार गर्नु परेमा कतारमा मान्यता प्राप्त स्वास्थ्य संस्था वा डाक्टरको शिफारिससहित दूतावासमा मेल गर्नु पर्ने छ भने थप जानकारी आवश्यक परेमा  दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क सकिने दूतावासले जनाएको छ ।

नेपालमा आमा, बुवा, श्रीमान, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही र अस्पतालमा भर्ना भएको अवस्थामा आफैले हेरचाह गर्न नेपाल जानु पर्ने भएमा भर्ना भएको अस्पतालबाट जटिल स्वास्थ्य अवस्था रहेको खुल्ने शिफारिस र बिरामीसँग नाता खुल्ने कागजातहसित दूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्टेन्सन नम्बर ११३ मा सम्पर्क गर्नु पर्ने छ ।

स्वास्थ्य समस्या देखाई घर फिर्तिको अनुरोध गर्नेहरुको लागि मान्यता प्राप्त अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय बाहेक अन्य प्रशासनिक निकायको शिफारिस मान्य नहुने दूतावासले जनाएको छ ।

यी सबै अवस्थाका लागि दूतावासमा ईमेल प्राप्त भए पछि आवश्यक प्रक्रिया अघि बढाईने हुनाले व्यक्ति आफै दूतावासमा जानु नपर्ने र अन्य कागजात तथा जानकारी चाहिएमा दूतावासले नै  सम्पर्क गर्ने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!