१२ सय जना युवालाई निशुल्क सीपमुलक तालिमको अवसर, आवेदन दिने तरिका हेर्नुहोस्

Posted on: 13 Jan, 2020

मनोज पराजुली । पुस २८, काठमाडौं । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले निशुल्क सीप मुलक तालिम लिन चाहनेहरुलाई लक्षित गरि आवेदन खुलाएको छ । प्रतिष्ठानबाट संचालन हुने सीप विकास तालिमका लागि विभिन्न ७ विषयमा कुल १२ सय ४० जनाको लागि आवेदन खुलाइएको हो ।

मोवाइल मर्मतको लागि एक सय २० जना, मेसन सय जना, प्लम्बर २ सय जना, वेटर/वेट्रेस १ सय ८० जना, कार्पेन्टर सय जना, हाउस किपिङ्गमा २ सय ८० जना र कुकको लागि २ सय ४० जनालाई निशुल्क तालिम दिइने छ । 

तालिम लिन इच्छुक नेपाली नागरिकले प्रशिक्षार्थी निवेदन फाराम, नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि सहित माघ १३ गतेसम्म आवेदन फाराम भर्नुपर्नेछ । अन्तर्वार्ता सुचनामा तोकिएको मितिमा हुने र प्रशिक्षार्थी छनौट समितिले गरेको निर्णयानुसार प्रशिक्षार्थी छनौटको सूचना पछि प्रकाशित हुनेछ । 

तालिममा छनौट भएका प्रशिक्षार्थीहरुले तोकिएको मितिबाट तालिममा सहभागी हुनुपर्नेछ । तालिम शुरु भएको पहिलो दिन भर्ना नहुनेहरुको स्थानमा वैकल्पिक उम्मेदवारलाई तालिममा सहभागी गराईने जनाइएको छ ।  विपन्न, दलित, अपाङ्ग, शहिद परिवार, एकल महिला र पिछडिएको क्षेत्रका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । 

तालिम लिन इच्छुक उम्मेदवारको उमेर १८ देखि ३० वर्षको हुनुपर्नेछ तर एकल महिला, अपाङ्ग तथा द्बन्द्ब पीडित व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । प्रशिक्षार्थीको  छनौट अन्तर्वार्ताबाट गरिनेछ । एक समूहमा औषत १५/२० जना प्रशिक्षार्थीलाई सहभागी गराइनेछ । 

तालिममा सहभागी हुनेले बस्न र खान सहभागी आफैले व्यवस्था गर्नुपर्नेछ । गाउंपालिका र नगरपालिका वा प्रदेश सरकारबाट प्रशिक्षार्थीको लागि लागत सहभागिता हुने गरी प्रस्ताव भएमा विशेष प्राथमिकता दिइनेछ । रोजगारी गर्ने वा स्वरोजगारमा उद्यम गर्ने लक्ष्य भएकाले आवेदन गर्नुहोला । तालिममा छनौट भई मनासिब कारण बेगर तालिम छोडेमा सरकारी अभिलेख राखि भविष्यमा कुनै पनि तालिममा सहभागी गराइने छैन ।   

प्रशिक्षार्थीहरुबाट तालिम बापत कुनै शुल्क लिइने छैन र तालिम सामग्री निशुल्क उपलब्ध गराइनेछ । म्याद नाघी आएको र रीत नपुगेको आवेदन उपर कुनै कारवाही नहुने जनाइएको छ । 

हेर्नुहोस् सूचना 


यस बिषयमा तपाइको प्रतिक्रिया...!