विदेशबाट नेपाल आउँदा यात्रुले ल्याउन पाउने सामानहरुको सूची, केके सामान ल्याउन पाउँछन् ?

Posted on: 17 Jul, 2019

साउन १, काठमाडौं । सरकारले २०७३ जेठ २५ गतेको सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो । नयाँ सूचीमा विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । 

सरकारले नयाँ आर्थिक बर्षदेखि विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

त्यत्सै विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर नेपाल ल्याउन पाउने सुविधा छ । तर तोकिएको परिमाण भन्दा बढी चुरोट ल्याएको खण्डमा दोब्बर थप भन्सार लाग्नेछ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने तर त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुनेछ । १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको छ ।

विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूट हुने वस्तुको सूची

– ५० ग्रामसम्म सुनका गहना ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना

– गुरिया लुगाफाटो बरबिछ्यौना घर गृहस्थीका पुराना सामान

– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान,

– ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक–एक थान

– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकएक थान

– पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक–एक उपकरण

– सात किलोसम्म खाद्य परिकार

– मदिरा एक लिटरसम्म

नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने पुरानो नियम कायम छ । तपाईँ एक बर्ष भन्दा बढी समय बैदेशिक रोजगारीमा गई नेपाल फर्कंदा ३२ इञ्चको टिभी ल्याउदै हुनुहुन्छ भने तपाइँले भन्सार तिर्नु पर्दैन । तर ३३ इन्चको टिभी ल्याउनु भएको खण्डमा भने ३३x५००=१६५०० भन्सार लाग्छ । यदी तपाइले ४२ इन्चको टिभी ल्याउनु भएको छ भने तपाइँले ४२x५५०=२३,१०० भन्सार तिर्नुपर्छ | यदी तपाइले ६५ इन्चकै टिभी ल्याउनुहुन्छ भने भन्सारमा ६५x१२००= ७८,००० तिर्नुपर्ने हुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!