विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाउने र नपाउने सामान (सूची सहित)

Posted on: 23 Jan, 2019

काठमाडौँ | विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किँदा विगतको जस्तै टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्या उनुस् । पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ ।

तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको छ । सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन पाइन्छ । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत हुन्छ ।

सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने ब्यवस्था गरेको छ । कतिपय सामान ल्याउनै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । कतिपय सामानमा  भन्सार तिर्नुपर्छ । 

यी हुन् भन्सार नलाग्ने सामान: 

- बढिमा १ लिटर रक्सी 

- ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १/१ थान 

- बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ थान 

- वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी 

- डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामाग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १/१ थान

- निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री 

- औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्री

- सात किलोग्रामसम्म खाद्य वस्तु

भन्सार तिरेर ल्याउन पाइने सामान के-के ? 

केही सामग्रीमा एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सकिन्छ । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका सामान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २–२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् ।

चुरोट दुई सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।

सुनको व्यवस्था

विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ ।

५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत गर्न थालिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!