अमेरिकन आइडलको उपविजेता बने दिवेश, अमेरिकन आइडल बनिन् जस्ट साम

Posted on: 18 May, 2020

जेठ ५, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिका उपबिजेता  बनेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बन्न सफल भएकी हुन् । 

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेश टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट पाएनन् । उलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । 

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका थिए । दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।


उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!