युट्युबमा ‘किल दिस लभ’ले तोड्यो गंगनम स्टाइलको रेकर्ड (हेर्नुहोस् भिडियोसहित)

Posted on: 09 Apr, 2019

चैत २६, काठमाडौं | दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।


पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।

स्मरण रहोस् कीर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको हो । यो ब्याण्डका सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक स्क्वाएर वन नामक पहिलो एल्बम यसले ल्याएको थियो । उक्त एल्बम दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो ।

तत्पश्चात सन् २०१८ मा उक्त ब्याण्डले ल्याएको डूडूडूडू बोलको गीत दक्षिण कोरियामा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत बनेको थियो ।

पछिल्लोपटक यो ब्याण्डले ल्याएको किल दिस लभ गीतले युट्युब भ्युजको मामिलामा केवल कोरियामा मात्र होइन विश्वव्यापी रुपमै किर्तिमान कायम गर्न सफल भएको छ । यो गीत अंग्रेजी र कोरियन दुवै भाषामा रहेको छ ।

बीबीसी


यस बिषयमा तपाइको प्रतिक्रिया...!