अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय तालिम आजदेखि राजधानीमा सुरु

Posted on: 21 Nov, 2016

मङ्सिर ६, काठमाडौँ  अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि संस्कृतिकर्मीको क्षमता अभिवृद्धि सुरु भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले युनेस्कोको एसिया प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय तालिम केन्द्रको सहयोगमा आयोजना गरेको पाँचदिने तालिम आजदेखि राजधानीमा सुरु भएको हो । 

वर्तमान पुस्तामा अमूर्त सम्पदाको जीवन्तता हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ । अमूर्त सम्पदाको संरक्षणमा अपनाइँदै आएको पद्धति द्रुततर विकास, प्राकृतिक विपत्तिको खतरा र विश्वव्यापीकरणका कारण प्रभाव पर्न थालेकाले कार्यशाला आयोजना गर्नुपरेको सो अवसरमा जानकारी गराइयो । 

कार्यशालाले समुदायमा आधारित संरक्षण विधि निर्माणका लागि ज्ञान तथा सीपको आदानप्रदान गर्ने लक्ष्य लिएको मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले अमूर्त सांस्कृतिक सम्पदालाई बिर्सिए नेपालको संस्कृति नै खतरामा पर्ने बताउनुभयो । “अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण भएको छैन, यससम्बन्धी साहित्य रचना गरेर संरक्षण गरिनुपर्छ, अन्य देशको अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी गतिविधि थाहा पाउन पनि कार्यशालाले सहयोग गर्नेछ” – उहाँले भन्नुभयो । 

कार्यक्रममा केन्द्रका उपमहानिर्देशक झाङ जिङ, अमूर्त सांस्कृतिक सम्पदाका अन्तर्राष्ट्रिय स्रोत व्यक्ति शुभ चौधरी, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)का नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहर्टले नेपालको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि सन् २०१२ मा जापान सरकारको आर्थिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि युनेस्को महासन्धि, २००३ को कार्यान्वयन, सन् २०१३ जनवरीमा समुदायमा आधारित अमूर्त सांस्कृतिक सम्पदाको पहिचान तथा विवरण सूचीकरण र सन् २०१३ सेप्टेम्बरमा महासन्धिका लागि मनोनयनको तयारी शीर्षकमा कार्यशाला गरिएको सो अवसरमा जानकारी गराइयो । 

पाँचदिने कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा आबद्ध ३५ जना सरकारी एवम् गैरसरकारी प्रतिनिधिको सहभागिता छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!