कतारमा विदेशी श्रमिकलाई स्वास्थ्य बीमा अनिवार्य बनाउने कानुन पारित

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । विदेशी श्रमिकका लागि स्वास्थ्य बीमा अनिवार्य गर्न बनाइएको कानुन कतारको सुरा काउन्सीलले पारित गरेको छ । उक्त कानुनमा व्यवस्था गरिएअनुसार कतारमा रोजगारीका लागि तथा भ्रमणमा आउनेहरुको पनि अनिवार्य स्वास्थ्य बीमा गर्नेछ हुन्छ ।

मोम्मद अल मोहमुदको अध्यक्षतामा बसेको काउन्सीलको बैठकले सो कानुनको मस्यौदामा छलफल गरी पारित गरेको दोहान्यूजले जनाएको छ । कानुनमा आवासिय अनुमति जारी हुनु अगाडी विदेशी श्रमिकको स्वास्थ्य बीमा गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

जसले गर्दा कतारमा रहँदा कुनै स्वास्थ्य समस्या भएमा उपचारका लागि समस्या नहुने विश्वास लिइएको छ । नयाँ कानुन कार्यान्वय भएपछि कतारको भ्रमण गर्नेहरु तथा आप्रवासी श्रमिकले उनीहरुको बसाई अवधिको स्वास्थ्य बीमा गरिएको प्रमाण पेश गर्नुपर्ने जनाइएको छ ।

विदेशी श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने भएका कारण स्वास्थ्य बिमाको खर्च पनि रोजगारदाताले नै दिनुपर्ने गरी कानुन पारित गरिएको छ । खाडीका मुलुकहरुमा सरकारले बनाउने कानुन लागु हुनुपूर्व सुरा काउन्सीलमा राय सल्लाहका लागि पठाउनु पर्दछ । 

सुरा काउन्सीलले सो ऐनमा गरिएको प्रावधानलाई ईस्लाम धर्मको दृष्टिकोणबाट हेर्ने गर्दछ । सामान्यतथा सुरा काउन्सीलबाट पारीत भएको कानुनलाई मन्त्रीपरिषदले पारित गर्ने र निश्चित समयावधि पश्चात त्यो कार्यान्वयनमा आउने गर्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!