टर्कीमा काम लगाइदिन्छौं भन्दै आमा–छोरीलाई बेच्ने दुईजना पक्राउ

Posted on: 25 Feb, 2021

फागुन १३, काठमाडौँ | टर्की पठाइदिन्छु भन्दै आमा छोरीलाई बेच्ने दुईजना पक्राउ परेका छन् । महिनाको ९० हजारसम्म तलब हुन्छ भनि प्रलोभन देखाएर सुरुवातमा माछापोखरीस्थित डेरामा बस्ने बागलुङकी पूर्णिमा सिर्पाली बस्नेतले ती आमाछोरीलाई भेटेकि थिइन् । 

पूर्णिमाले आमाछोरीसँग टर्की पठाइदिने कामका लागि २० लाख खर्च गरेमा जीवन नै परिर्वतन हुने सपना देखाएका थिए । आमा छोरीलाई टर्कीको स्पामा जागिर खाने गरी त्यहाँ पठाउने आश्वासन दिएपछि आमाछोरी जान तयार भएका थिए । टोखामा रहेको जग्गा बेचेर उनीहरुले २० लाख बुझाए । पैसा लिएपछि पूर्णिमा तर्किन थालिन् । आमा-छोरीले आफूहरु विदेश जाँदैनौं भनेर पैसा माग्दा पूर्णिमाले टर्कीमा रहेको आफ्नो बुबासँग पीडितलाई कुरा गराएर विश्वासमा पारिन् । अनि, ०७७ असोज २२ मा त्रिभुवन विमानस्थलबाट टर्किस एयरलायन्सको टिकट काटेर टर्की पठाइन् । 

टर्की पुगेपछि पूर्णिमा बस्नेतको बुबासँग उनीहरुले भेटे । ३ हप्ता आफ्नो डेरामा राखेपछि पूर्णिमाका बुबाले छोरीलाई रेष्टुरेन्टमा काम गर्न पठाए । तर, आमालाई चाहिँ ग्रिस पठाइदिन्छु भनेर २ हजार लिरामा टर्कीको बोर्डरमा लगेर बेचे । बेचेको कुरा थाहा पाएपछि दूतावाससँगको समन्वयमा छोरी मंसिर ८ मा र आमा पुस २६ मा नेपाल फर्काइए । नेपाल आएपछि पीडितहरुको जाहेरीको आधारमा पूर्णिमा सिर्पाली बस्नेत र गोरखा घर भएका जीवन भट्टलाई प्रहरीले पक्राउ गर्यो । 

तार्केश्वरस्थित जरंखुमा बस्ने भट्टले आमाछोरीलाई ताहाचलस्थित श्रम कार्यालयमा भेटेर टिकट र अन्य कागजात तयार गरेर दिएका थिए । पक्राउ परेकाहरूमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार अनुसन्धान हुँदैछ । मानव तस्करीमा संलग्न जीवन र पूर्णिमाले आमाछोरी सहित अन्यलाई पनि पिडित बनाएको पाइएको छ । गिरोहमा संलग्न जीवन र पूर्णिमालाई पक्राउ गरेपछि थप १२ जना ब्यूरोको सम्पर्कमा पुगेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!