'म्यानपावर कम्पनीमा अग्रिम शुल्क नबुझाउनू, अन्तर्वार्ता अगावै सक्कल कागजात नदिनु'

Posted on: 11 Jan, 2021

पुस २७, काठमाडौं | म्यानपावर कम्पनीहरुले अग्रिम रूपमा रकम अशुली गर्न थालेको जानकारी पाएपछि वैदेशिक रोजगार विभागले त्यसरी अग्रिम शुल्क नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई आग्रह गरको छ । 

बिभागले गत पुस २२ गते एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जान लागेका युवाहरुले अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्बन्धित म्यानपावरहरुलाई सक्कल राहदानी लगायत आवश्यक कागजातहरुका सक्कलप्रति बुझाउन अनुरोध गरेको छ साथै म्यानपावरहरुलाई समेत यस सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।  विभागले म्यानपावर कम्पनीहरुले सीमित माग आएको भन्दै रोजगारमा जान इच्छुकहरुसँग अनुचित रकम उठाउन थालेपछि बैंकमा मात्रै रकम जम्मा गर्न सूचना जारी गरको छ । विभागले अन्तर्वार्ता पास भईसकेपछि मात्र म्यानपावरको नाममा रहेको खातामा सेवा शुल्क जम्मा गर्न भनेको छ ।


सरकारी नीति अनुसार  कतार, साउदी अरब, कुवेत, बहराइन, ओमान  जाने श्रमिकबाट बढीमा १० हजार रुपैया मात्रै सेवा शुल्क लिन पाइन्छ । मलेसिया र युएई जाने श्रमिकबाट म्यानपावर कम्पनीले सेवा शुल्क लिन पाउदैनन् 

 तर यो नीतिलाई म्यानपावर तथा वैदेशिक रोजगारमा पठाउनेहरुले टेरेका छैनन् । वैदेशिक रोजगारमा जानेहरुले डेढ लाखदेखि १२ लाखसम्म बुझाएर १० हजार रुपैयाको मात्र रसिद पाएको अवस्था छ । 

वैदेशिक रोजगारमा जाने अधिकांश श्रमिकलाई वैदेशिक रोजगारमा जान चर्को शुल्क तिर्नु पर्दैन भन्ने थाहा हुँदा-हुँदै पनि विदेश जान नपाउने डर तथा बाध्यतामा परेर म्यानपावर कम्पनीलाई पैसा बुझाइरहनु परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!