६ महिनापछि वैदेशिक रोजगारीको डिमाण्ड आयो, कतार र युएईमा रोजगारीको अवसर

Posted on: 20 Sep, 2020

मनोज पराजुली । असोज ४, काठमाडौं । कोरोना महामारी पछि बन्द भएको वैदेशिक रोजगारीले गति लिन थालेको  छ । चैत्र ११ गतेबाट सरकारले लकडाउन गरेपछि बन्द भएको वैदेशिक रोजगारीका लागि विदेशी कम्पनीहरुले नेपाली कामदार माग्न थालेका हुन्  ।

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । सरकारले नयाँ श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेसंगै संस्थागत रुपमा काम गर्दै आएका म्यानपावर कम्पनीहरुले विदेशबाट नेपाली कामदारहरुको माग ल्याउन थालेका छन् । 

आज एक राष्ट्रिय दैनिकमा एडभान्स म्यानेजमेन्ट ग्रुपले कतार र युएइको लागि विभिन्न पदका लागि नेपाली श्रमिक माग गरेको छ । कोरोना महामारीका विच पनि कतारको टप ५ कम्पनी भित्र पर्ने Urbacon Trading and Contracting कम्पनीले विभिन्न कामका लागि नेपाली श्रमिक माग गरेको हो ।  

कम्पनीले खान, बस्न सुविधा दिने,  इन्सुरेन्स लगायत २ वर्ष पछि वार्षिक बोनस समेत दिने एडभान्स म्यानेजमेन्ट ग्रुपका संचालक दलवीर भण्डारीले जानकारी दिए । कम्पनीमा पुगेपछिकै दिनबाट तलबको लागि दिनगन्ती शुरु हुने, पिसिआर परीक्षण कम्पनीले गरिदिने, १४ दिन क्वारेन्टीन बस्दा सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने भण्डारीले जानकारी दिए । काठमाडौंको कार्यालयमा असोज ८,१०,१४र १५ गते, विराटनगरको विराट चोकमा असोज ११ र १२ गते, झापाको उर्लाबारी र बिर्तामोडमा असोज १३ गते साथै असोज १५ गते जनकपुर/पोखरा/ बिराट चोकमा श्रमिक छनौटका लागि अन्तरवार्ता लिइने भण्डारीले जानकारी दिए  ।

१६१ जना कोटाका लागि कार्पेन्टर, म्यासन, इलेक्ट्रिसियन लगायत विभिन्न पदका लागि वैदेशिक रोजगार विभागबाट स्वीकृति विज्ञापन प्रकाशन गरिएको भण्डारीले जानकारी दिए । तत्कालका लागि अप्रुवल भएका १६१ जनाको कोटा भएपनि छिट्टै स्काफोल्डर र लेवरको लागि २ हजार जनाको डिमाण्ड अप्रुवल आउने क्रममा रहेको उनले बताए ।

डिमाण्ड हेर्न 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्नुहोस वा यहाँ क्लिक गर्नुहोस 

हवाई उडान र यातायात सहज 

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान गत भदौ १६ बाट नै सूचारू गर्ने निर्णय गरेको थियो सोहि अनुरुप हाल नियमित हवाई उडान हुँदै आएको छ भने सार्वजनिक यातायात पनि असोज १ गतेबाट पूर्ण रुपमा सुचारु भएको छ यसले गर्दा पनि वैदेशिक रोजगारीमा जानेहरुको लागि सहज भएको छ । 

श्रम स्वीकृति लिनेको संख्या बढ्दै

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । सरकारले श्रम स्वीकृति खोल्ने निर्णय गरेसंगै  कोरोना महामारीका विच पनि तीन महिनाको अवधिमा कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार कार्यालय, ताहाचलले दिएको जानकारी अनुसार ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको छ  । 

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका छन्  । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । श्रम स्वीकृति लिएका मध्ये प्राय: पुन श्रमस्वीकृति लिनेको विवरण भएको ताहाचल कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!