मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा, १० हजार जनाको भिषा सकियो

Posted on: 18 Sep, 2020

असोज २, काठमाडौं । मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोना भाईरस (कोभिड-१९) ले पारेको असर र कामदारका सवालहरू विषयक वेबिनार कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

१९ हजार मध्ये ३५ सय नेपाली स्वदेश फर्किएको कार्यक्रममा जानकारी दिइएको छ । मलेसियामा हाल कार्यरत रहेका मध्ये १० हजार नेपाली श्रमिकको भिषा सकिएको पाइएको समितिले जनाइएको छ । 

प्रवासी नेपाली समन्वय समितिले दिएको तथ्यांक र सरकारी तथ्यांकमा भने फरक रहेको कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले बताए । मलेसियाबाट नेपाल फर्कन १६ हजार ७ सय ७२ जनाले नाम टिपाएको र त्यसमध्ये १० हजार ४ सय ७५ जना स्वदेश फर्किएका उनले बताए । ६ हजार २ सय ९७ जना मात्रै स्वदेश फर्किन बाँकी रहेको सहसचिव घिमिरेले जानकारी दिए  ।

मलेसियामा कार्यरत ७ सय जना कामबाट निकालिएको, तलव नपाएका मध्ये बेसिक तलब पनि नपाएका ५ हजार जना रहेको जनाइको छ । त्यस्तै हाल मलेसियामा न्यून तलब पाएका २ हजार जना, बिरामी भई उपचारका लागि प्रतिक्षारथ १७५ जना रहेको जानकारी दिइएको छ ।

करिव १७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । शंकास्पद ९ जनाको शव मलेसियामा नै दाहसंस्कार गरिएको छ । विभिन्न कारणले मृत्यु भएका करिब ८५ जना मृतकको शव जुन महिनापछि नेपाल पठाइएको जनाइएको छ । 

दुतावासको तथ्यांक अनुसार हाल मलेसियामा ३ लाख  २५ हजार नेपाली कार्यरत रहेका छन् त्यस्तै करिब २५ हजार अवैधानिक भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!