वैदेशिक रोजगारी : अमेरिका सहित २६ देशमा जान एक हजार बढिले लिए पुन:श्रम स्वीकृति

Posted on: 08 Jul, 2020

मनोज पराजुली । असार २४, काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका विच पनि नेपालीहरु वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिन थालेका छन् । सरकारले शर्त तोकेर वैदेशिक रोजगारी खुला गरेसंगै ६ दिनको अवधिमा एक हजार ८६ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । साथै असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । 


सो पश्च्यात मंगलबारसम्म एक हजार ८६ जनाले पुन श्रम स्वीकृति लिएका वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । विहिबारदेखी ताहाचल कार्यलयले यूएईको लागि ५०३ जना, जापानको लागि १९०, मलेसियाको लागि ८०,  कतारको लागि  ४५, माल्टाका लागि १७ जनाले पुन: श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका अन्य देशहरुमा अमेरिका, इजरायल, ओमान, दक्षिण कोरिया, पोल्याण्ड, बहराइन, कुवेत लगायत रहेका छन् ।

विभागको ताहाचलस्थित कार्यालयका अनुसार विहीबार ५ जना र शुक्रबार दुई जनाले पुनः श्रम स्वीकृति पाएका थिए । विहिबार र शुक्रबार सर्भरमा प्राविधिक समस्या भएर श्रम स्वीकृति दिन नपाएपछि शनिबार पनि विभागको ताहाचलस्थित कार्यालय खोलिएको थियो । शनिबार ४७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । त्यस्तै आइतबार ३४७ जना, सोमबार ४१०, मंगलबार ३१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यसैविच ताहाचल कार्यालयबाट वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) सुरु भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने व्यवस्था गरिएको छ । सरकारले पुन: श्रम स्वीकृति दिएपनि नयाँ श्रम स्वीकृति दिने निर्णय गरेको छैन ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । जसका कारण श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन । नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!